प्रकाशित मिति : बुधबार, फाल्गुन २९, २०७५
काठमाडौँ । वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने र फरार हुने व्यवसायी बढ्दै गएका छन्।
सस्तो रकममा धेरै कमाइ हुने प्रलोभन देखाएर पैसा असुल गर्ने र अन्तिममा खाडी तथा अन्य युरोपियन मुलुकमा अलपत्र पार्ने व्यवसायीहरूको सङ्ख्या बढेसँगै सरकार तथा प्रहरी प्रशासनले पनि निगरानी गर्दै आएको छ।
सोही क्रममा वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी रकम ठगी गरेको अभियोगमा एक म्यानपावर सञ्चालकलाई पक्राउ गरेको छ। काठमाडौँ बसुन्धरास्थित डेल्टा मेनपावरका सञ्चालक राजन केसी पक्राउ परेका हुन्। सिन्धुपाल्चोक स्थायी घर भएका केसीलाई बानेश्वरबाट मङ्गलबार साँझ पक्राउ गरिएको छ।
राजनले टर्की देश पठाइदिन्छु भनी करिब ७० जनासँग प्रतिव्यक्ति ४ लाखका दरले पैसा उठाई हालसम्म विदेश नपठाएको सम्बन्धमा अनुसन्धानको क्रममा उनलाई नियन्त्रणमा लिइएको हो।
पीडितहरूले राजनलाई बानेश्वरबाट नियन्त्रणमा लिएकोमा वैदेशिक रोजगार विभागले आवश्यक कारवाहीको लागि प्रहरी कार्यालयमा पठाएको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij