प्रकाशित मिति : मङ्लबार, चैत्र ५, २०७५
पोखरा। क्षत्री समाज नेपालको प्रथम गण्डकी प्रदेश अधिवेशन पोखरामा सम्पन्न भएको छ । राष्ट्रिय अखण्डता र जातीय सद्भावकालागि क्षत्री एकता आजको आवश्यकता भन्ने मुल नाराकासाथ अधिवेशनले वेनीबहादुर बस्नेतको अध्यक्षतामा ३३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।
चैत १ गते पोखरामा सम्पन्न समाजको प्रथम गण्डकी प्रदेशको अधिवेशनले गण्डकी प्रदेश भरी रहेका क्षत्रीहरुको भेलाबाट वरिष्ठ उपाध्यक्षमा इन्द्रमान खत्री, महिला उपाध्यक्ष सीता गोदार, उपाध्यक्ष वमबहादुर पाण्डेलाई निर्वाचित गरेको हो।
अधिवेशनले सचिवमा लक्ष्मी अधिकारी कोषाध्यक्षमा प्रेमबहादुर केसी सह–सचिवमा कृष्णबहादुर घिमिरे चयन गरेको नवनिर्वाचित सचिव लक्ष्मी अधिकारीले जानकारी दिइन्।
यसैगरी नवनिर्वाचित अध्यक्ष बेनीबहादुर बस्नेतले समाजको अस्तित्व कायम गर्न देशभरका क्षत्रीहरु एकजुट भएर लाग्नुपर्नेमा जोड दिए। बिगत लामो समयदेखि समाजमा रहेर कार्यगर्दै आएको अनुभवले आफूमा अझै उर्जा थपिएको बताउँदै अग्रज र समकक्षीबाट सही दिशा प्रदान हुनेमा आफू आशावादी रहेको बताए। अधिवेशन सम्पन्न गर्नका लागि समाजका अग्रज तथा शुभचिन्तकहरुले पुर्याएको योगदानप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि साथ र सहयोगको उनले अपेक्षा गरे।

क्षत्री महिला समाजका निर्वतमान अध्यक्ष एवं प्रदेश सांसद पुष्पा केसी भण्डारीले समाज परिवर्तनका लागि महिलाहरुको योगदान उच्च रहेको बताँउदै क्षत्री महिला हुनुमा आफूलाई अझै गर्व लागेको बताइन्। समाजको उद्देश्य अनुसार नै नयाँ कार्य समिति अगाडि बढ्नेमा आफू विश्वस्त रहेको उनको भनाइ थियो।
राज्यको महत्वपूर्ण जिम्मेवारीमा आफू रहिरहदाँ सम्पूर्ण महिलाको हक हितका लागि सदैव लागिरहने समेत उनले बताइन्। क्षत्री समाज नेपालका अध्यक्ष प्रा. डा. चन्द्रबहादुर थापाले समाजको महत्वपूर्ण अंगको रुपमा महिला रहेको बताउँदै नयाँ समितिले द्रूत गतिमा आफ्ना कार्यक्रम अगाडि बढाउने विश्वास व्यक्त गरे।
क्षत्री समाज नेपाल केन्द्रका पूर्व महासचिव गण्डकी प्रदेशसभाका सदस्य कुमार खड्काले राष्ट्रिय अखण्डता र जातीय सद्भाव कायम गर्नका लागि समाज खोलिएको बताउँदै नवनिर्वाचित समितिलाई सो कार्यमा दत्तचित्त भएर लाग्नका सुझाव दिए।

गण्डकी प्रदेश सांसद कृष्ण थापा बिन्दुकुमार थापालेलगायतले आफ्नो धारणा राखेका थिए। कार्यक्रममा अतिथि समाजका सल्लाहकार केशबहादुर केसी डा. ज्ञानबहादुर कार्की, केन्द्रीय महिला उपाध्यक्ष उर्मिला खडकाले शुभकामना मन्तव्य राखेका थिए।
यसैगरी क्षत्री समाज नेपालका निर्वतमान अध्यक्ष प्रा.डा.दिलबहादुर क्षत्रीले क्षत्री जातिको गरिमालाई उचाईमा पुर्याउनुका साथै महिलाहरुलाई एकजुट भएर लाग्न कार्यमा नवनिर्वाचित कार्य समिति दृढ भएर लाग्नु पर्ने बताउँदै सफल कार्यकालका लागि शुभकामना दिए।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij