प्रकाशित मिति : बिहिबार, चैत्र १४, २०७५
लहान । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको कर्जन्हा नगरपालिकास्थित बस्तीपुरमा गए राति ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ।
बस्तीपुर र मन्हरवाको बीचमा ओभरटेक गर्ने क्रममा मोटरसाइकल स१त ३७७७ नंको ट्याक्टरमा टोक्किँदा मोटरसाइकल चालक सिरहाको कर्जन्हा नगरपालिका–४ बस्तीपुर निवासी २७ वर्षीय रमेश साहको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ।
सो दुर्घटनामा परी मोटरसाइकलको पछाडि सवार कर्जन्हा नगरपलिका–१० निवासी १७ वर्षीय मो इरफान शेख घाइते भएका छन्। घाइते शेखको मिर्चैयास्थित मङ्गलम अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ।
विद्युत् चुहावट छ प्रतिशतले घट्यो
विद्युत् चुहावट नियन्त्रण अभियान सञ्चालन भएपछि आर्थिक वर्ष २०७५/७६ को सात महीनाको अवधिमा सिरहाको लहान क्षेत्रमा करीब छ प्रतिशत विद्युत् चुहावटमा कमी आएको छ।
विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले चुहावट नियन्त्रणका लागि अभियान सञ्चालन गरेपछि चुहावट २८ दशमलव ६० प्रतिशतमा झरेको हो।
गत आर्थिक वर्ष २०७४/७५ सम्म करीब ३४ दशलव ८८ प्रतिशत विद्युत् चुहावट हुँदै आएकामा आर्थिक वर्ष २०७५/७६ को साउनदेखि माघसम्ममा करीब छ प्रतिशत विद्युत् चुहावट घटेको विद्युत् प्राधिकरण वितरण केन्द्र लहानका प्रमुख बिष्णुप्रसाद यादवले जानकारी दिए।
यस्तै समयमा विद्युत्को महसुल नबुझाउने ३३३ ग्राहकको विद्युत् लाइन काट्दा रु ९९ लाख ६४ हजार ४११ बाँकी बक्यौता रकम सङ्कलन भएको प्रमुख यादवको भनाइ छ।
त्यस्तै विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले सो अवधिमा हुकिङ गरी विद्युत् चुहावट गर्ने ४१६ लाई पक्राउ गरी जरिवानावापत रु ५० लाख २९ हजार राजश्व सङ्कलन भएको जनाएको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij