प्रकाशित मिति : शुक्रबार, फाल्गुन १७, २०७५
हामीले दैनिकरुपमा विभिन्न प्रकारका फलफूल उपभोग गर्छौं। फलफूल हाम्रो खानाको एक प्रमुख हिस्सा बनिसकेको छ। विभिन्न किसिमका फलफूलमा बेग्लाबेग्लै स्वाद र बेग्लाबेग्लै पोषण तत्व पाइने गर्छ।
फलफूलमा मानिसलाई चाहिने भिटामिन र खनिज पदार्थ धेरै मात्रामा पाइन्छ। तर, फलफूलमा पौष्टिक गुणका साथै औषधीय गुणहरु पनि पाइन्छ भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ।
फलफूलमा पाइने औषधीय तत्वले मानिसलाइ रोगहरुबाट बचाई तन्दरुस्त राख्न मद्दत गर्छ। हामीले नियमितजसो उपभोग गर्ने फलफूल, तिनीहरुमा पाइने पौष्टिक र औषधीय गुणहरुबारे थाहा पाइराख्नु राम्रो हुन्छ।
स्याउ
पौष्टिक हिसाबले स्याउमा कार्बोहाइड्रेड, भिटामिन र खनिज पदार्थ पाइन्छ, जुन हाम्रो शरीरका लागि आवश्यक तत्व हो। स्याउ पौष्टिक गुणले मात्र होइन औषधीय गुणहरुले पनि भरिपूर्ण छ।
स्याउमा पाइने औषधीय गुण
१. स्याउमा पाइने मलिक एसिड, टार्टरिक एसिडहरुले शरीरका जोर्नीहरु दुख्ने समस्या कम गर्न मद्दत गर्छ। साथै, स्याउमा पाइने यी एसिडले पाचन क्रियामा पनि सहयोग गर्छन्। स्याउमा प्रकृतिक रुपमा पाइने एसिडले स्याउ आफैँलाई पच्न मात्र भनई हामीले खाएको अन्य खानेकुरालाई समेत पचाउने गर्छ।
२. पाकेको स्याउ वा यसको रस नियमित खाएमा पुरानो कब्जियत निको हुन सक्छ।
३. स्याउको नियमित सेवन गर्नाले ब्रोङ्काइटिस र लहरे खोकी हुनबाट जोगाउँछ।
४. स्याउको नियमित सेवनले रक्तचाप सन्तुलित राख्न मद्दत गर्छ।
५.स्याउमा भएको मलिक एसिडले रगतबाट बिकार पदार्थ निकाली रगत सफा पार्न सहयोग गर्छ।
६.आखाँ सुन्निएको अथवा इन्फेक्सन भएको बेला स्याउको रसले आखाँ सफा गरेमा आराम मिल्छ।
७. काँचो अथवा बेक गरेको स्याउ नियमित सेवन गर्नाले छाँतीको दुखाइ कम हुन्छ साथै मिर्गौला जोगाउन सहयोग गर्छ।
अम्बा
अम्बा पौष्टिक रुपमा भरिपूर्ण छ। अम्बामा ‘डायट्री फाइबर’ प्रसस्त मात्रामा पाइन्छ। यस्तै, अम्बा क्यालसियम र पोटासियमको महत्वपूर्ण स्रोत हो। यसमा केही मात्रामा फलाम पनि पाइन्छ। अम्बामा भिटामिन, प्रोटिन पनि पाइन्छ। अम्बा ‘भिटामिन सी’को स्रोत हो।
अम्बाका औषधीय गुण
१. अम्बाको नियमित सेवनले उच्च रक्तचाप नियन्त्रण गर्न मद्दत गर्छ।
२. अम्बाभित्रको गुटीमा १४ प्रतिशतसम्म तेल हुन्छ, जसले राम्रो कोलेस्टेरोल ९एचडिएल० को मात्रा बदाउँछ।
३. अम्बामा प्रसस्त मात्रामा भिटामिन सी पाइने हुनाले यसले छाला सम्बन्धी रोग लाग्नबाट जोगाउँछ।
४. अम्बाको सेवनले रगतमा चिनीको मात्रा उपयोगमा ढिलाइ गराउन मद्दत गर्छ, जुन डाइबिटिज रोगीलाई अत्यन्त उपयोगी हुन्छ।
५. अम्बामा धेरै मात्रामा पाइने ‘ट्यानिन’ तत्वले झाडापखाला निको पार्न मद्दत गर्छ।
६. नियमित अम्बा सेवन गर्नाले क्यान्सरको सम्भावना घटाउँछ।
आँप
आँपमा कार्बोहाइड्रेड, फाइबर, सोडियम, क्यालसियम, जिङ्क, कपर, भिटामिन सी, भिटामिन बी कम्पलेक्स आदि तत्व पाइन्छ। आँप पौष्टिक रुपले भरिपूर्ण फल हो।
आँपका औषधीय गुण
१. आँपको सेवनले क्यान्सर हुने सम्भावना कम गर्छ।
२. आँपले कोेलेस्टेरोलको मात्रा घटाउन मद्दत गर्छ। यसमा रहेको फाइबर एवं भिटामिन सीले रगतमा रहेको कोेलेस्टेरोलको मात्रा घटाउँछ।
३. आँपमा भिटामिन ए पाइने हुनाले रतन्धो हुनबाट जोगाउँछ। साथै, आखाँ सुख्खा हुने रोगबाट पनि बचाउँछ।
४. आँपको सेवनले छाला स्वस्थ रहन्छ।
५. आँपले उच्च रक्तचाप हुनबाट पनि जोगाउँछ।
मेवा
मेवा पौष्टिक र औषधीय गुणले भरिपूर्ण फल हो। मेवामा ‘पपाइन’ भन्ने इन्जाइम पाइन्छ। मेवा कार्बोहाइड्रेड, भिटामिन ए, भिटामिन सी, मिनरल, म्यागनेसियम, कपर आदिको राम्रो स्रोत हो।
मेवाका औषधीय गुण
१. मेवाले छाला सफा र चम्किलो राख्न मद्दत गर्छ। यसमा पाइने भिटामिन ए, पपाइन जस्ता तत्वले छालालाई स्वस्थ राख्न सहयोग पु¥याउँछ।
२. मेवाले कपाल स्वस्थ राख्नुका साथै कपाल झर्नबाट जोगाउँछ।
३. मेवाको सेवनले आखाँ तेजिलो हुन्छ। यसले रतन्धो हुनबाट पनि जोगाउँछ।
४ मेवाको नियमित सेवनले मुटुरोग लाग्ने सम्भावना कम हुन्छ।
५. मेवाले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ। मेवाको नियमित सेवनले रक्तचाप नियन्त्रण गर्न सहयोग गर्छ।
अंगुर
अंगुर पनि हामीले अत्यधिक सेवन गर्ने फलमध्ये पर्छ। अंगुरमा पाइने पौष्टिक र औषधीय गुणले मानव शरीरलाई धेरै फाइदा पुर्याउँछ।
अंगुरको औषधीय गुण
१. अंगुरमा ‘फ्ल्याभोनोइड्स’ भन्ने तत्व पाइन्छ, जसले राम्रो कोलेस्टेरोल बढाउन मद्दत गर्छ। यसले गर्दा मुटु स्वस्थ रहन्छ।
२. अंगुरको नियमित सेवनले ट्युमर हुनबाट जोगाउन सक्छ। यसमा रहेको ‘रेस्भेरेट्रोल’ नामक तत्वले ट्युमर हुनबाट रोक्छ।
३. अंगुरको रस नियमित प्रयोग गर्नाले उच्च रक्तचाप नियन्त्रण हुन्छ।
४. अंगुरले रगत सफा गर्न मद्दत गर्छ। यसले रगतमा भएका हानिकारक ‘टक्सिन’हरु निकाली रगत सफा गराउँछ।
५. अंगुरको रस नियमित सेवन गर्दा दम रोग लाग्ने सम्भावना कम हुन्छ।
६. अंगुरमा पाइने एन्टिअक्सिडेन्टले अल्जाइमर, ‘ऐथेरोस्क्लेरोसिस’जस्ता रोगबाट बचाउन सक्छ।
केरा
केरामा पोटासियमको मात्रा पर्याप्त मात्रामा पाइन्छ। यसका अलावा केरालाई डायट्री फाइबर, भिटामिन, पोटासियम र म्यागनेसियमको राम्रो स्रोत मानिन्छ।
केराको औषधीय गुण
१. केरा नियमित सेवन गर्नाले यसमा पाइने पोटासियमले रक्तचाप नियन्त्रण गर्न मद्दत गर्छ।
२. केराको सेवनले छालालाई विकीरणले हुने जोखिमबाट जोगाउँछ।
३. पाकेको केराको सेवनले ग्यास्टिक रोग लाग्न बाट बचाउँछ। केराले झाडापखाला र आउँ पर्नबाट पनि जोगाउँछ।
४. केरो सेवनले रातो रक्त कोष बन्न मदत गर्छ र रक्तअल्पता हुन बाट जोगाउछ ।
५. केराको नियमित सेवनले तौल बढाउन मद्दत मिल्छ। साथै, केराले तुरन्तै शक्ति दिने काम गर्छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij