प्रकाशित मिति : मङ्लबार, फाल्गुन २१, २०७५
धनुषाधाम । आयंका फाउण्डेशनले धनुषा जिल्लाका तीन विद्यालयमा महिलामैत्री शौचालय निर्माण गरी हस्तान्तरण गरेको छ। फाउण्डेशनले हरेक विद्यालयमा दुईवटा शौचालय, फल दिने ९ वटा बोटबिरुवा, २ थान डस्टबिन, सय थान ब्याग र ५० थान पुनः प्रयोग गर्न मिल्ने प्याड पनि वितरण गरेको छ।
धनुषाको जनता मावि, हरिपुर निगाहपुर मावि र आधारभूत माविमा एक कार्यक्रमकाबीच उक्त सामग्री वितरण गरिएको हो। फाउण्डेशनका अध्यक्ष एवं कलाकार प्रियंका कार्की, कोषाध्यक्ष आयुष्मान देशराज जोशी एवं सल्लाहकार सरोज ओलीको उपस्थितिमा भएको कार्यक्रममा महिनावारी सम्बन्धि सचेतना अभिवृद्धि पनि गरिएको छ।
नायिका कार्कीले महिनावारीको विषयमा अहिलेसम्म खुलेर कुरा गर्ने संस्कारको विकास भईनसकेको भन्दै छात्राहरुलाई महिनावारी भएको समयमा सरसफाईमा ध्यान दिन आग्रह गरिन्।
कपडाबाट बनेको सो प्याडलाई धोएर एक वर्षसम्म प्रयोग गर्न मिल्ने उनले बताइन्। एउटा झोलामा चार थान प्याड, दुई थान अन्डरवेयर, साबुनलगायतका सामग्री रहेको उनले जानकारी दिईन्।
कार्यक्रममा उनले प्याड प्रयोग गर्ने तरिकासमेत छात्राहरुलाई सिकाएकी थिइन्। यस्तै, नायक आयुष्मान देशराज जोशीले महिनावारी लाज र महिलाको मात्र विषय नभएको बताए। महिनावारी भएको समयमा महिलाको पिडा कम गर्न पुरुषले पनि सहयोग गर्नुपर्नेमा जोड दिए।
न महिना वारी, न महिना पारी, म हुँ महिनाभरी लेखिएको टिर्सट लगाएर कार्यक्रममा उपस्थित भएका उनीहरुको यो आयंका फाउण्डेशनको तर्फबाट पहिलो सामाजिक काम हो।
कार्यक्रममा महिला सचेतनामा आफुहरु निरन्तर लाग्ने प्रतिबद्धता पनि उनीहरुले जनाएका छन्। प्रियंका र आयुष्मानलाई खानेपानी मन्त्रालयले महिनावारी स्वच्छता दूतमा नियुक्त गरेको थियो।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij