प्रकाशित मिति : बुधबार, फाल्गुन २२, २०७५
पूर्वाधार क्षेत्रमा लगानी जुटाउने मुख्य उद्देश्यका साथ नेपाल इन्फ्रास्ट्रक्चर बैंक संचालनमा आएको छ।
अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार एक कार्यक्रमका बीच बैंकको उद्घाटन गरे। राष्ट्र बैंकको नियमनम रही पूर्वाधार विकास सम्वन्धी परियोजनामा कर्जा प्रवाह गर्ने मुख्य उद्देश्यका साथ यो बैंक संचालनमा आएको हो।
सो अवसरमा अर्थमन्त्री खतिवडाले अन्तर्राष्ट्रिय बजारबाट पुँजी जुटाउन सरकारले सहयोग गर्ने बताए। ‘डिपोजिट सर्टिफिकेट’ जारी गरी गैरआवासीय नेपालीबाट लगानी जुटाउन उनले आग्रह गरे।
वाणिज्य बैंकहरुसँग प्रतिस्पर्धा गर्न नभई परिपूरक भूमिका निर्वाह गर्नेगरी इन्फ्रास्ट्रक्चर बैंक संचालनमा ल्याइएको खतिवडाले बताए। उनले बैंकहरुले जस्तो अल्पकालीन निक्षेप खोज्नतिर नलाग्न सुझाव दिए। ‘बैंकहरु अल्पकालीन स्रोत जुटाउनेतर्फ लाग्दा तातेको बजारलाई तपाईहरुले अरु नतताउनोस्’ खतिवडाले भने ‘परियोजनामा दीर्घकालीन लगानी गर्नेगरी नेतृत्व लिनुहोस्।’
बैंकहरुले दीर्घकालीन जोखिम लिन नचाहेकै कारण इन्फ्रास्ट्रक्चर बैंकको अवधारणा विकास भएको उनले बताए। ठूला आयोजना छनौट गरेर लगानी विविधिकरण गर्न उनले सुझाव दिए।
व्याजदरको प्रशङ्गमा, सरकारले निजी क्षेत्रलाई हस्तक्षेप गर्न नचाहेको बताए। ‘बैंकहरु पनि निजी, उद्योग पनि निजी, तपाईहरु मिल्नुहोस्, तपाईहरुको सुर्कासुर्की सरकारलाई मन परेको छैन’ उनले भने ‘जथाभावि सुँढ पसार्दै तपाईहरुको क्षेत्रमा प्रवेश गर्न चाहन्नौँ।’
गभर्नर डा. चिरञ्जिवि नेपालले बाहिरबाट लगानी ल्याउन, परियोजना छनौट गर्न, स्रोतको चाहेअनुसार परिचालन गर्न बैंकलाई पूर्ण रुपमा जिम्मेवारी दिइएको बताउँदै पारदर्शी भई काम गर्न सुझाव दिए। अध्यक्ष अनुज अग्रवालले अन्तर्राष्ट्रिय सरकारी तथा निजी क्षेत्रसँग मिलेर लगानी जुटाउन सक्दो प्रयास गरिने बताए।
बैंकले लगानीको स्रोत जुटाउनका लागि स्वदेशी वा विदेशी मुद्रामा वित्तीय उपकरण जारी गर्ने, दीर्घकालीन निक्षेप संकलन गर्ने, ऋणपत्र जारी गर्ने, विदेशबाट ऋण ल्याउने लगायतका कार्यहरु गर्नेछ।
सार्वजनिक तथा निजी साझेदारीमा स्थापना भएको बैंकले अन्तर्राष्ट्रिय सार्वजनिक तथा निजी क्षेत्रहरुसँग सहकार्य गरी लगानी भित्र्याउने छ।
हाल १२ अर्ब रहेको बैंकको चुक्ता पुँजी २० अर्ब पुर्याइने छ। बैंकमा सरकारको १०, बीमा कम्पनीहरुको १८. ९७, वाणिज्य बैंकहरुको २०. ८९, निजी तथा सार्वजनिक कम्पनीहरुको ५.१५, व्यक्तिगत ४. ९९ तथा सर्वसाधारणको ४० प्रतिशत स्वामित्व रहेको छ।
अनुज अग्रवाल अध्यक्ष रहेको बैंकका अन्य संचालकहरुमा मुकुन्दप्रसाद पौड्याल, चन्द्रप्रसाद ढकाल, लालमणि जोशी, नुमनाथ पौड्याल छन्। प्रमुख कार्यकारी अधिकृतको रुपमा अनिल ज्ञवालीले जिम्मेवारी सम्हालेका छन्।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij