आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

जहाज दुर्घटनामा बाँचेका ८ जना आज पहिलो ‘बर्थडे’ मनाउँदै

  • प्रकाशित मिति : मङ्लबार, फाल्गुन २८, २०७५



  • युएस–बाङ्ला एयरवेज जहाज दुर्घटनामा ज्यान गुमाउनेका परिवारको निम्ति आज शोकको दिन हो।

    त्रिभुवन विमानस्थलमा ५१ जनाको ज्यान जाने गरी उक्त दुर्घटना भएको मंगलबार एक वर्ष पूरा गरेको छ। वर्षदिनको यो घाउ उनीहरू सायदै बिर्सन सक्ने छन्।

    त्यही दुर्घटनामा सकुशल बाँचेका २० जना भाग्यमानीका निम्ति भने यो नयाँ जीवन पाएको दिनका रूपमा सदा स्मरणीय रहनेछ।

    तिनैमध्ये आठ जना मंगलबार दिउँसो हात्तिसारको ‘गसिप’ रेस्टुरेन्टमा भेला भएर आफ्नो पहिलो जन्मोत्सव मनाउँदै छन्।

    ट्राभल एजेन्सीमा आबद्ध यी आठसहित १२ जनाको टोली एक वर्षअघि बांगलादेशको राजधानी ढाकामा आयोजित पर्यटनसम्बन्धी कार्यक्रममा भाग लिएर फर्कँदै थियो।

    युएस–बाङ्ला एयरवेजको जहाज दिउँसो सवा २ बजे त्रिभुवन विमानस्थलमा दुर्घटनाग्रस्त भयो।

    दुर्घटनामा बाँचेकामध्ये आठ जना ट्राभल व्यवसायीले मंगलबार भेटेर पहिलो ‘जन्मोत्सव’ मनाउने योजना अलि अगाडि नै बनाएका थिए।

    राजधानीका विभिन्न ट्राभल एजेन्सीमा आबद्ध उनीहरू योजनामुताबिक दिउँसो गसिप रेस्टुरेन्टमा भेला भए र त्यो दिनको सम्झनामा गफिन थाले।

    ‘यो हाम्रा लागि अविश्मरणीय दिन हो,’ लक्की ट्राभल्सका सञ्चालक सनम शाक्यले आपसी कुराकानीकै बीच सेतोपाटीसँग भने, ‘हामीले नयाँ जीवन पाएको दिन। यही अवसरमा हामी साथीभाइ भेटेर त्यो दिन सम्झौं भनेर भेला भएको।’

    यो भेटघाटमा सनमसहित त्यस दिन दुर्घटनामा बाँचेकाहरू दयाराम ताम्राकार, आशिष रन्जित, विनोदराज पौडेल, वसन्त बोहोरा, हरिप्रसाद सुवेदी, केशव पाण्डे र किशोर त्रिपाठी छन्।

    दुर्घटनाको अघिल्लो दिन त्यही जहाजमा ढाकाबाट काठमाडौं फर्केका चित्र गुरूङ पनि उनीहरूसँग नयाँ जीवनको संयोग साट्न आइपुगेका छन्। ‘भाग्यले बाँचेका’ अर्का दिनेश हुमागाईं भने कामविशेषले बाहिर गएकाले आउन नसकेको सनमले बताए।

    उनीहरूलाई मंगलबार बिहानैबाट आफन्त र साथीभाइले बधाइ र शुभकामना दिए। ‘यहाँ रेस्टुरेन्टमा भेटेपछि नयाँ जीवन पाएपछिको एक वर्षको अनुभव, नयाँ काम र र व्यवहारबारे कुराकानी भयो,’ सनमले भने, ‘हामीमध्ये कोही सामान्य घाइते थियौं, कोही जटिल। उहाँहरू अझै पूरै निको भइसक्नुभएको छैन। तै ज्यान जोगियो, त्यही सबभन्दा ठूलो कुरा हो।’

    पूरै निको भइनसकेका घाइते हुन् केशव पाण्डे। दुर्घटनामा उनको दाहिने खुट्टाको घुँडा भाँचिएको थियो। मेडिकल स्टिल र रडहरूले अड्याइएको छ। उनी अझै पनि बैशाखीको सहारामा हिँडडुल गर्छन्।

    ‘सबभन्दा खुसीको कुरा हामी बाँच्यौं। भगवानले हो या संजोगले,’ केशवले भने, ‘यो हाम्रो दोस्रो जीवन हो। तर म अहिलेसम्म पूरा निको भएको छुइनँ। समस्या थपिएको छ। बाँचेको खुसी एकातिर छ, तै जीवन चलाउन गाह्रो भइरहेको छ।’

    उनका अनुसार खुट्टामा राखिएको स्टिल र रड निकाल्न अझै एकाध महिना लाग्ने डाक्टरहरूले बताएका छन्। निकालिसकेपछि पनि उनी तुरून्तै फटाफट हिँडडुल गर्न सक्दैनन्। सामान्य हिँड्ने अभ्यास गर्न कम्तीमा एक महिना लाग्नेछ।

    ‘लामो समय यस्तो अवस्थामा रहँदा कहिलेकाहीँ समस्या हुने रहेछ,’ केशवले भने, ‘साथीभाइ र परिवारको साथले अगाडि बढिरहेकै छु। जीवन व्यवस्थापन भइरहेकै छ।’

    भयानक दुर्घटनामा बाँचेकाहरूले आफूले गुमाएका साथी पनि सम्झेका छन्। उनीहरू एउटै समूहमा सँगसँगै आएका १२ जनामध्ये तीन जना हरिशंकर पौडेल, सजना देवकोटा र प्रविण चित्रकारको निधन भएको थियो।

    सनम, केशव र अरू साथीहरू आफ्नो खुसीको जमघट सकेर मृतक साथीहरूका परिवारको शोकमा सरिक हुन उनीहरूको घर जाने योजना छ।

    ‘हामी बाँचेकोमा खुसी त छ नै, सँगै साथीहरू गुमाउँदाको पीडा पनि छ,’ सनमले भने, ‘हामी सँगै फर्किएकामध्ये तीन जना हुनुहुन्न। सम्झँदा मन खल्लो हुन्छ। त्यसैले उहाँहरूको घर जाने सल्लाह गर्दैछौं।’

    पोहोर आजकै दिन यात्रुले टनाटन भरिएको युएस बाङ्ला जहाजमा २२ जना नेपाली, २८ जना बांगलादेशी र एक चिनियाँ नागरिकले ज्यान गुमाएका थिए। बंगलादेशमा एमबिबिएस पढिरहेका धेरै विद्यार्थीले कलिलैमा संसार छाडे। धेरै बांगलादेशीमध्ये कोही कामले त कोही पहिलोपल्ट घुम्न आएका थिए।

    सनमका अनुसार यात्राभर कुनै समस्या थिएन। छुट्टिमा नेपाल आइरहेका विद्यार्थीको उत्साह र पर्यटकको उत्सुकताले सबै रमाएका थिए। नेपालका डाँडाकाँडा देखिन थालेपछि सबैको उत्साह र उत्सुकता झनै बढ्यो। बादल लागेकाले दृश्य खासै राम्रो देखिएन।

    पहिलोपटक नेपाल आइरहेकाहरू भने झ्यालबाट क्यामरा तेर्स्याउन थाले। कति त हिमाल देखिन्छ कि भन्ने आसमा देब्रे लहरबाट दाहिने सरेका थिए।

    सनमको टोली आफ्नै गफमा मस्त थियो। ल्यान्ड गर्ने बेला जहाजले सामान्यभन्दा बढी समय लगायो। काठमाडौंमाथि दुई–तीन चक्कर घुम्यो।

    केही बेरमै जहाजका यात्रु सबैको जिन्दगीकै कहालीलाग्दो क्षण आयो। जहाज पहाडको एकदमै नजिकबाट तल झरेको थियो। जहाजका पाङ्ग्राले धावनमार्ग छुनुअघि नै यात्रुले सिटमै एक किसिमको कम्पन महशुस गरे। जहाज अस्वाभाविक रूपमा थर्रर हल्लियो।

    ‘अवतरण हुन लागेको जहाज जमिनमा यस्तरी बजारियो, मानौं कुनै पहाडमा ठोक्किएको होस्,’ सनमले वर्षदिनअघिको कहाली सम्झे।

    उनका अनुसार जहाज घुइँय्य गरेर घिस्रिँदै कतै बजारिएको उनीहरूले अनुभव गरे। कोलाहल मच्चियो। यात्रुहरू सिटबाट लडे। कोही सिटमै अड्किए। कोही सिटैले थिचिए। सिटमाथिको सामान राख्ने डब्बा खुलेर झोलाहरू छरपस्ट झरेका थिए।

    यात्रुहरू के भयो भनेर होस् सम्हाल्न खोज्दै थिए, त्यही बेला जहाजको पछिल्लो भागबाट धुवाँको मुस्लो उड्यो। त्यही मुस्लो पछ्याउँदै आगोको लप्का छुट्यो। आगोको लप्कासँगै जहाजलाई यात्रुको चित्कारले छोप्यो।

    कसैलाई त्यही लप्काले सोहोरेर लग्यो। कोही झ्याल फुटाएर भए पनि बाँच्न सफल भए।

    जाने त गइहाले, बाँचेकाहरू दोस्रो जीवनको खुसी मनाउँदै छन् र गएकाहरूलाई सम्झँदै छन्।

    ‘नयाँ जीवन पाएपछि नयाँ अनुभूति भएको छ,’ सनमले भने, ‘जिन्दगीमा अरूका लागि केही गर्नपर्छ भन्ने चेत आएको छ।’

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij