प्रकाशित मिति : बिहिबार, चैत्र २१, २०७५
हेटौँडा। जिल्ला प्रहरी कार्यालय मकवानपुरले लागुऔषध गाँजा तथा अन्य लागुऔषधसहित पक्राउ गरिएका तीन जनालाई आज सार्वजनिक गरेको छ। प्रहरी निरीक्षक पवनकुमार झाको नेतृत्वको प्रहरी टोलीले हेटौँडा–३ को तिनताप्के भन्ने स्थानबाट २१२ किलो गाँजा लोड गरिएको पिकअप गाडीसहित चालक र अर्को एक जनालाई नियन्त्रणमा लिएको जिप्रका मकवानपुरले जनाएको छ।
पक्राउ पर्नेमा महोत्तरी बर्दिवास ११ बस्ने ३६ वर्षीय पिकअप चालक रामजस यादव र सोही ठाउँ बस्ने १९ वर्षीय उज्ज्वल गुर्मछाने मगर रहेका छन्। प्रहरीका अनुसार उनीहरुले प्लाष्टिकमा बेरेर मनहरीबाट हेटौँडातर्फ ल्याउँदै गरेको ३० वटा पोका बनाएर लुकाएर राखेको अवस्थामा गाँजा फेला परेको हो।
त्यस्तै प्रतिबन्धित लागुऔषध नाइटोभेट १२७ ट्यबलेट, डाइजेल्याब १० एम्बुल, ब्युनोर्फिन १० एम्पुल र फेनार्गन १० एम्पुलसहित चितवन राप्ती नगरपालिकाका ३७ वर्षीय लक्षबहादुर राई पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईले जानकारी दिए।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij