मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

दिन्दिनै ब्रुमरले बढार्दा पनि चिटिक्क भएनन् काठमाडौंका सडक

  • प्रकाशित मिति : शुक्रबार, चैत्र २२, २०७५



  • काठमाडौं महानगरपालिकाले दैनिक रूपमा ब्रुमर चलाएर सडक सफा गरिरहे पनि निर्माणस्थलबाट आएका धुलो, हिलो, माटो र सवारीसाधनले भित्र्याउने फोहरका कारण सडक सफा देखिएको छैन।

    अहिले ब्रुमर नपुगेका ठाउँका स्थानीयवासी आफ्नो ठाउँमा ब्रुमर नआइपुगेको गुनासो गरिरहेका छन् भने अर्कातिर ब्रुमरले अहिले सफा गरिरहेको सडकमा दैनिक फोहर आइरहेको छ। महानगरपालिकाले सडकमा रहेका खाल्डाखुल्डीका कारण ब्रुमर चलाउन कठीन भएपछि सडक विभागलाई खाल्डा पुर्न र मेलम्ची खानेपानी आयोजनालाई खनेका ठाउँमा पुर्न भनिरहेको छ।

    सडकमा रहेका खाल्डोसँगै हिलो माटो समस्याका रूपमा रहेको महानगरको वातावरण महाशाखाले जनाएको छ। भूकम्पपछि काठमाडौंका धेरै ठाउँमा पुनःनिर्माणको काम भइरहेको छ। सुन्धारास्थित धरहरा, दरबार हाइस्कुल, रानीपोखरी, काठमाडौं भ्युटावर र बसपार्कलगायतका संरचना निर्माणका क्रममा त्यस स्थानबाट आएको र  सवारीसाधनले ल्याएका हिलो माटोले सफा गर्न समस्या भएको वातावरण विभागका प्रमुख हरि श्रेष्ठले बताए।

    निर्माणका क्रममा प्रयोग हुने सामग्री यत्रतत्र छरेर राख्दा निस्कने फोहरले पनि समस्या भएको महाशाखा प्रमुख श्रेष्ठले जानकारी दिए। नगर प्रमुख विद्यासुन्दर शाक्यले पुनःनिर्माणका क्रममा प्रयोग हुने सामग्रीलाई पनि काम सकेपछि निश्चित स्थानमा राख्न र खानेपानीका पाइपका लागि खनिएका खाल्डाखुल्डी यस अघिजस्तो लामो समयसम्म नराखी तत्काल पुर्न अनुरोध गर्दै आएका छन्।

    महानगरले ब्रुमर सञ्चालन गरेको एक साता हुँदा सडकबाट दैनिक दुई सय टन धुलो संकलन गरिरहेको छ। महानगरले अघिल्लो साता बुधबारदेखि सुन्दर शहर निर्माण गर्ने कार्यअनुरुप अत्याधुनिक यन्त्रबाट सडक सफा गर्न थालेको हो। गत फागुन २८ गते इटालीबाट पाँच ब्रुमर ल्याइएका थिए।

    हरेक दिन पाँच यन्त्रले निर्धारण गरेका रूट अनुरूप नै काम गरिरहेका जनाइएको छ।  चावहिल, पुतलीसडक, कलंकीलगायतका स्थानीयवासी आफ्नो क्षेत्रमा कामपाले सफा गर्न ल्याएका यन्त्र नआएका भनेर गुनासो गरिरहेका छन्।  महानगरले तयार गरेको रुट अनुरूप काम भइरहेको र क्रमिक रूपमा सबै स्थानमा पुर्‍याइने प्रमुख श्रेष्ठले बताए।

    सडक विभागले मुख्य सडकमा रहेका खाल्डा हटाएर महानगरपालिका र सडक विभाग दुबैका ब्रुमर सहज रूपमा सञ्चालन गरिने जनाएको छ।  महानगरले गत साताबाट मात्रै सञ्चालन गरेपनि सडक विभागले गत पुसदेखि सडकमा रहेको धुलो हटाउन ब्रुमर सञ्चालनमा ल्याएको महानिर्देशक रवीन्द्रनाथ श्रेष्ठले जानकारी दिए।

    विभागका तीन र महानगरका पाँच ब्रुमरले सडकमा रहेका फोहर हटाउने काम गरिरहेको उनले बताए।  सडक विभाग आफैंले देखेका वा कसैले सूचना दिएका आधारमा खाल्डा देख्नासाथ टाल्ने काम गरिरहेको महानिर्देशक श्रेष्ठले बताए।  उनका अनुसार विभागले काठमाडौंका आठ मिटरभन्दा बढी चौडाइका सडकमा खाल्डा पुर्ने कामलाई तीव्रता दिएको हो।

    महानगरभित्र मेलम्ची खानेपानी आयोजनाले पाइप बिच्छ्याउन धेरै ठाउँमा सडक खनेको छ।  सडक खनेका ठाउँमा आयोजना आफैंले पुर्नुपर्ने उनले बताए।  काठमाडौंमा सडक विस्तारका काम भइरहेका सडकमा खाल्डाको समस्या भए पनि अहिले त्यो हट्ने क्रममा रहेको उनले जानकारी दिए।

    ‘चाबहिलदेखि साँघु र त्रिपुरेश्वरदेखि थानकोट सडकमा उपलब्ध चौडाइमा कालोपत्र भइरहेको छ,’ उने भने,‘अबको तीन चार महिनामा दुबै सडक सम्पन्न भएसँगै यहाँ रहेका खाल्डोको समस्या हट्नेछ।’

    सडक विभागका तीन वटा ब्रुमर छन्।  तीमध्ये अहिले दुईले काम गरिरहेको विभागले जनाएको छ।  पहिले यी ब्रुमर कहिलेकाहीँ सञ्चालन भए पनि अहिले नियमित रुपमा सञ्चालन भइरहेका महानिर्देशक श्रेष्ठले बताए।  उनले भने, ‘महानगरपालिका र विभागले समन्वय गरेर ब्रुमर चलाइरहेका छौं।’

    महानगरपालिकाका पाँच ब्रुमर सञ्चालनका लागि हाल पाँच सडक क्षेत्र तय गरिएको छ।  ब्रुमरको रुट टेकुबाट शुरु गरी सोल्टिमोड हुँदै कलङ्की, त्रिपुरेश्वर, सुन्धारा, नयाँ सडक, जुद्ध सालिक, महाङ्काल, जमल, लाजिम्पाट, शीतल निवास, शिक्षण अस्पताल, नारायणगोपाल चोकसम्म रहेको छ।  त्यस्तै, अर्को रुट टेकुबाट शुरु गरी त्रिपुरेश्वर, थापाथली, माइतीघर, बबरमहल, बानेश्वर, तीनकुने हुँदै अन्तर्राष्ट्रिय विमानस्थलसम्म र त्यहाँबाट फर्किएर तीनकुनेबाट कोटेश्वर, पेप्सिकोलासम्म दोस्रो रुट छ।

    टेकुबाट सुन्धारा हुँदै भोटाहिटी, विश्वज्योति, घण्टाघर, भद्रकाली, सिंहदरबार, पुतलीसडक, कमलादीमोड, हात्तीसार, जय नेपाल हल, दरबार मार्ग, कमलादी प्रज्ञा भवन पछाडिबाट  काठमाडौँ प्लाजासम्मको रुट रहेको छ।  ब्रुमरले दरबारमार्गमा रहेको महेन्द्र शालिकबाट नारायणहीटी हुँदै केशरमहल चोक, त्यहाँबाट लाजिम्पाटतर्फ खानी तथा भूगर्भविभाग अगाडिको चोक, नारायणहिटी उत्तर गेट, गैरीधारा, प्रधानमन्त्री निवास, रसियन दूतावास, हुँदै शितल निवास, पानी पोखरी, लौनचौर, सोह्रखुट्टेसम्मको सडक सफा गरिँदै आएको छ।

    त्यस्तै अर्को रुट कमलपोखरी, ज्ञानेश्वर, मैतीदेवी, पुरानो बानेश्वर, सिनामङ्गल एअरपोर्ट गेट, गौशाला, चाबहिल, होटल हायात चुच्चेपाटी, बत्तीसपुतली र प्रदर्शनी मार्ग रहेको छ।  पाँचौँ क्षेत्रअन्तर्गत न्यूरोड गेट, वसन्तपुर, इन्द्रचोक, केशरमहलबाट त्रिदेवीमार्ग, रत्नराज्य स्कुल, थापागाउँ, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, सीतापाइला, बालाजु, गोँगबु, नारायणगोपाल चोक र चाबहिलको सडक रहेको छ।

    महानगरका पाँच ब्रुमरमध्ये चार वटा १६ टन क्षमता बराबरका तथा अर्को एउटा छ टन क्षमताको छ।  ती ब्रुमर दैनिक १० किलोमिटरसम्मको धुलो सङ्कलन गर्नसक्ने क्षमताका छन्।  यूरो मापदण्डका भनिएका उक्त ब्रुमरमा अगाडि, बीचमा र पछाडि भागको दायाँबायाँ गरी प्लास्टिकका चार ब्रससहित धुलो तान्न सक्ने शक्तिशाली पाइप जडान गरिएका छन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij