प्रकाशित मिति : शनिबार, चैत्र २३, २०७५
बझाङ । जिल्लाको बुगंल नगरपालिका–११ देउलीकोटमा एकै घरका चार जनामा अपाङ्गता भएपछि परिवारका सदस्यलाई छाक टार्न समस्या भएको छ।
घरका मूलीसहित परिवारका सबै सदस्यमा अपाङ्गता भएपछि उनीहरुको दैनिक रोजीरोटीमा समस्या भएको हो।
४५ वर्षीया नरि बोहरा, उनकी श्रीमती ४२ वर्षीया भागादेवी र दुई छोरा १४ वर्षीया रवीन्द्र र १२ वर्षीय नवीनलाई अपाङ्गता भएपछि परिवार सधै समस्यामा पर्दै आएको छ। काम गर्ने अर्को मान्छे कोही नभएपछि बोहरा परिवार जिल्लाका विभिन्न ठाउँमा माग्दै गुजारा चलाउने गर्छन्।
घरका सबैमा अपाङ्गता भएकाकाले यो परिवारलाई जीवन धान्न समस्या छ । घरमूली रहेका नरिको दाँया खुट्टामा समस्या भएकोले हिँडडुल गर्ने समस्या छ।
त्यसैगरी उनकी श्रीमती भागादेवीको पनि दायाँ खुुट्टा चल्दैन। त्यसैगरी दुबै छोरा न्यून दृष्टिका हुन्।
जिल्लाको दुर्गम देउलीकोटबाट परिवारनै जिल्ला प्रशासन कार्यालयबाट आर्थिक सङ्कलन गर्ने प्रमाण बनाउन आएका थिए।
आफ्ना दुई छोरासहित सदरमुकाम चैनपुर आर्थिक सहयोग माग्दै आएका नरिले भने, “घरमा काम गर्ने कोही छैन, सबैमा अपाङ्गता छ, छोराछोरी पढाउन खान लाउन समस्या छ त्यसैले बजारमा माग्दै छु।”
बाठपाली माविमा अध्ययन गर्दै आएका छोराहरुलाई आर्थिक अभावका कारण विद्यालय छुटाउनुपर्ने अवस्था आएको उहाँको भनाइ थियो।
बोहराको परिवारमा चारै जनासँग अपाङ्गता परिचयपत्र छ । कान्छो छोरा नवीनको ९क० श्रेणीको अपाङ्गता परिचयपत्र भएकाले सरकारले मासिक रु दुई हजार दिने गरेकोले त्यसैबाट घर खर्च चलाउँदै आएको बोहराले बताए।
घरका अन्य तीन जनासँग ९घ० श्रेणीको परिचयपत्र भएकाले राज्यबाट पाउनुपर्ने सुविधाबाट उनीहरु वञ्चित छन्। आफूहरुले पनि राहत पाउने पर्ने उनीहरुको माग छ।
घरमूली नरिको एक्कासि खुट्टामा घाउ भएर उपचार गर्न नपाएर अपाङ्गता भएको हो भने उनकी श्रीमतीको जन्मजात एउटा खुट्टा चल्न नसक्ने थियो।
त्यसैगरी बोहराका दुवै छोरा जन्मजात न्यून दृष्टिका हुन्। जेठो छोरा रवीन्द्रको धनगढी उपचार गरेर सामान्य उपचार हिँडडुल गर्न सक्छन् भने कान्छो छोरा नवीनले अरुको सहारा लिनुपर्छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij