मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

कालो बादल देखेपछि हावाहुरीपीडित तर्सिन्छन्

  • प्रकाशित मिति : शनिबार, चैत्र २३, २०७५



  • वीरगञ्ज। इजहार मियाँ आकाशतिर हेर्छन्, आकाशमा कालो बादल लागेको छ र मेघगर्जनको सम्भावना देखेपछि फेरि कुनै अनिष्ट हुने सङ्केतले उनको जीउ सिरिङ्ग हुन्छन् र मनभित्र भय, त्रासका कारण शङ्काउपशङ्का उब्जन थाल्छ।

    “आइतबार साँझ शुरुमा आकाशमा यस्तै कालो बादल लागेको थियो। केही समयको अन्तरालमा आएको विनाशकारी हावाहुरीले विनाशलिला देखाएर श्रीमती, बुहारी र दुई नातिको ज्यान लिएर गएपछि फेरि मौसममा परिर्वतन देख्दा आइतबारको कहालीलाग्दो रातले भयवित छु“, ६५ वर्षीय पीडित इजहार मियाँले रासससँग आफ्नो पीडा पोखे।

    “ठूलो आवाज र गर्जनसहित आएको सो दुईवटा चक्रवात आफ्नो घर अगाडि एकआपसमा जुँधे। त्यसको अगाडि जेपर्यो त्यसलाई विनाश गर्दै अगाडि बढ्यो त्यो चक्रवात”, फेटा गाउँपालिका–६ पूरैनियाका लैस मियाँ आइतबार साँझको विनाशलिला सम्झदै भने, “त्यो चक्रवातमा आगो जस्तो देखिने उल्का जस्तो थियो” । तीन सय मिटर जति चौडाइको चक्रवात घुम्ने क्रममा भलुही, भरवलीयामा दोहोरिएर आएपछि यसले ठूलो विनाश गरेर गयो।

    यो भयाङ्कर चक्रवातले पर्सा, बारा जिल्लाको खुटवा, जब्दी, भलुही, पूरैनिया, धर्मनगर, फुलवरिया, हर्दिया, तेलगाई, परशुरामपुर, धर्मपुरलगायतका ठाउँमा ब्यापक रुपमा धनजनको क्षति गरेको छ। अहिले कालो बादल लागेकाले आइतबार आएका अनिष्ट जस्तै फेरि त्यो अनिष्ट दोहोरीन्छकी भने डरले सताइरहेको छ पीडित फैजुलहक भन्छन्, “मैले आफ्नो श्रीमती मुस्तकीमा खातुनसहित बुहारी बिबिया खातुनलाई समेत गुमाएकाले मौसममा एकाएक खराबी आएपछि डरत्रास लागेको छ।

    हुनत सङ्घीय सरकारले हावाहुरीबाट घरबार विहीनलाई ओत लाग्न पूरैनिया र भरवलीयामा नेपाली सेनामार्फत रात गुजार्नका लागि त्रिपाल बनाइदिएको छ, फेटा गाउँपालिकाका अध्यक्ष अमिरीलाल प्रसादले राससलाई भने, “बादल लागेको छ, मेघ गर्जिदैछन् यदि पानी प¥र्यो भने गाउँनै डुबानमा परी पीडित थप पीडामा पर्ने देखिन्छन् ।” उनले एकपटक पानी मात्र प–र्यो भने महिला, बालबालिका र ज्येष्ठ नागरिक सबैभन्दा बढी पीडित हुनेछ बताए। उनले भने, “आइतबार साँझ दुई तीन मिनेटका लागि आएको अलच्छिने बतासले ब्यापक धनजनको क्षति गरेको अवस्थामा फेरि यस्तो विपद् आयो भने पीडितलाई पीडा मात्र थपिने छ ।”

    बनाएको घरले त वर्षा र हावाहुरीबाट जोगिन सकेन भने पीडितका लागि सेनाले बनाइ दिएको अस्थायी टहरा त्रिपालले फेरि आउने हावाहुरी र वर्षालाई कसरी रोकन सकिन्छ, आफ्नै घरको पिलरले किचिएर ज्यान गुमाएको बुबा हरिनारायणको किरियामा बसेका फेटा गाउँपालिका–१ भलुहीका राजेन्द्र दासको पीडा छ। घर आएका आफन्त त्रिपालमुनी आश्रय लिएका छन् तर मौसम बिग्रिदै गएकाले फेरि हावाहुरी आउँदा अनिष्ट हुने चिन्ताले उनीहरुलाई सताइरहेका छन्।

    बिहीबार बसेको सङ्घीय सरकारको मन्त्रिपरिषद्को बैठकले बारा पर्साको हावाहुरीबाट प्रभावितको घर सेनामार्फत बनाउने निर्णय गरेकाले वर्षायाम शुरु हुनुअघिनै पीडितका लागि घर बनाउनुपर्ने माग जनप्रतिनिधिहरुको छ।

    गरीबहरुका पनि आ–आफ्नै मीठो सपना हुन्छन्। यही सपना सङ्गालेर आफ्नै आङ्गनमा वैशाखतिर छोरीको विवाह गर्ने सपना लिएर बसेका कलैया उपमहानगरपालिका–१३ बलिरामपुरका वीरबहादुर साह कानुको त्यो सपना आइतबार साँझ आएका हावाहुरीले उडाएर लगेको छ। निर्धन उत्थान लघुवित्त संस्था कलैयाबाट दुई लाख ऋण लिएर छोरीको विवाहका लागि भनेर डेढ तोला सुनको टीका, नाकको फुली, नथिया राखेको थियो तर हावाहुरीसँगै घर भत्किँदा उनको सपना त्यही भग्नावशेषमा पुरिन गयो।

    घर भत्किएपछि को भग्नावशेषमा वीरबहादुरले माटो हटाएर खोजी रहेको खुशी अझसम्म भेटिएका छैनन्। हावाहुरीले भत्किएको घरको भग्नावशेषभित्र गरगहना खोजी रहेको अवस्थामा त्यहाँ पुगेका राससकर्मीसँग वीरबहादुरले भने, “खुला आकाशमुनि त्रिपालमा रात बिताइरहेका छौँ तर आकाशतिर हेर्दा कालो बादल छाएको छ। अलिअलि हावाहुरी पनि चलेको छ यदि बेगले हावाहुरी आयो र पानी प-र्यो भने खोजीरहेको खुशी भने भेटदिन होला ।”

    त्यो विनाशकारी हावाहुरीबाट बारा पर्सा गरी २७ जनाको मृत्यु भएको, ६७६ जना घाइते भएको र एक हजार ८९५ घरमा क्षति पुगेको स्थानीय प्रसाशनले जनाएको छ। हावाहुरीबाट ज्यान गुमाएका तथा घरबारविहीन परिवारलाई चाँडै स्थायी बसोवासको व्यवस्था गर्नुपर्ने पीडितहरुको माग छ।

    जसरी पहाडमा आएको विनाशकारी भूकम्पले पु-याएको क्षति र पीडामा तराईले मलम लगाएका थिए, त्यसैगरी विपद्मा डुबेको बेला हावाहुरीबाट पीडितलाई ब्यापक राहत दिएर पहाडले मधेशमा मलम लगाउने काम गरिरहेको छ।

    पर प्रसौनी चौकको एउटा पसलमा रेडियोमा गित घन्किरहेको थियो—
    पहाडमा जाडो बढे—तराईले सेकनुपर्छ
    आँधी आए तराईमा पहाडले छेक्नुपर्छ
    हैन भने देशभक्ति छैन हाम्रो छातिभित्र
    माटोलाई चोट लाग्छ—मुटु दुख्नुपर्छ….रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij