आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

माझी समुदाय आधारभूत सेवाबाटै बञ्चित

  • प्रकाशित मिति : शनिबार, चैत्र २३, २०७५



  • फिदिम । “छोरीहरु राजी खुसीले नै छिटो विहे गर्छन्, हामी पनि छिटो विहे गर्नेमै पर्छौँ, नपढेपछि, नबुझेपछि यस्तै त होला नी” पाँचथरको हिलिहाङ गाँउपालिका–७ माझीटारकी ममिता माझीले सुनाईन्, “नपढेपछि, पढ्नै नपाएपछि यहाँ चेतनाको अभाव छ, बालविवाह व्याप्त छ।”

    बत्तीको फेदमा अध्याँरो भनेजस्तै सदरमुकाम फिदिम छेउको यो बस्ती र यहाँका माझी समुदायमा शिक्षाको ज्योतीसँग राम्रोसँग साक्षात्कार हुन सकेको छैन।

    न उनीहरुका लागि नजिकै माध्यमिक तहसम्मको विद्यालय छ, न त स्वास्थ्य र खानेपानीको सुविधा नै। यो समुदायको अवस्था बारे सरोकारवालामा कुनै चासो र चिन्तासमेत छैन।

    विद्यालय पुग्नै गाह्रो

    शिक्षा र स्वास्थ्य सेवाको पहुँचबाट टाढा छ माझीटार । गाउँमा कक्षा–३ सम्म पढाइ हुने महादेव आधारभूत विद्यालय छ। त्यसपछि फिदिम नगरपालिका–४, सालघारीमा पाँच कक्षासम्म पढाइ हुने विद्यालय भए पनि बाँकी कक्षा पढ्न भने नजिक विद्यालय नहुँदा माझी समुदायका अधिकांश बालबालिकाहरुले बीचैमा पढाइ छाड्नुपर्ने बाध्यता छ।

    हालसम्म माझीटारका उक्त समुदायमा एसएलसी पास गर्ने दुई पुरुष र दुई महिला मात्र रहेका स्थानीय राम माझीले बताए। कक्षा पाँच छिचोलेपछि पढ्नलाई अन्यत्रै जानुपर्ने भएकाले अधिकांश बालबालिकाले बीचैमा पढाइ छाडेर अभिभावकले जे काम गर्छन् त्यही काम गर्ने गरेको उहाँको भनाइ छ।

    माझी समुदायका अगुवा जसबहादुर माझी विद्यालय नजिक नहुँदा समस्या भएको सुनाउँछन्। “हामीले त पढ्न पाएनौँ नै, हाम्रा छोरा नाती पुस्ताका धेरैले पढ्लान् र प्रगति गर्लान् भन्ने थियो, तर पढ्नै पाएनन्, पढ्न सहज भइदिएन्” जसबहादुरले भने, “विद्यालय पुग्नै गाह्रो छ, भोकभोकै दुई घण्टौँसम्म हिड्नुपर्छ।”

    माझी समुदायका बालबालिकाले पाँच कक्षा भन्दा माथि अध्ययन गर्न जोरसालस्थित सुखबोध माध्यमिक विद्यालय पुग्नुपर्छ। निर्माणाधीन पुष्पलाल९मध्यपहाडी० लोकमार्गको फिदिम–माझीटार खण्डको यात्रा गरेर विद्यार्थी विद्यालय पुग्न सक्दछन्।

    तर, विद्यालय आउन नियमित रुपमा सवारीका साधन उपलब्ध हुँदैनन् । “यहाँ लामो दूरीका सवारी मात्रै सञ्चालन हुन्छन्, सीट पाइन्न” अभिभावक मङ्गलबहादुर माझीले भन्नुभयो, “विद्यालय पुग्ने अरु उपाय छैन्।”

    छैन स्वच्छ खानेपानी

    माझी समुदाय समस्यै समस्या झेलेर दैनिकी बिताउँछन् । हिलिहाङ गाउँपालिका–७ र फिदिम–४ मा पर्ने माझीटार स्वास्थ्य, शिक्षा, खानेपानी जस्ता अत्यावाश्यक सेवाबाट वर्षौँदेखि बञ्चित छ ।

    ३२ घर माझी समुदाय र केही तामाङ समुदायको बसोबास रहेको सो ठाउँमा हालसम्म स्वच्छ खानेपानीको पहुँच छैन । वर्षौँदेखि हेंवाखोलाको दुषित पानी खानेपानीको रुपमा प्रयोग गर्दै आएका त्यहाँका स्थानीय अहिले पनि त्यही खोलाको भरमा छन्।

    माझीटारदेखि केही किलोमिटर माथि हेंवा ए जलविद्युत् आयोजनाले विद्युत् उत्पादन शुरु गरेको छ भने तल्लो हेंवा जलविद्युत् आयोजना निर्माणाधीन छ। “एकैछिनमा खोला धमिलो हुन्छ, कहिले एकैछिनमा पानी सुक्छ तर पनि हामी त्यही खोलाको पानी खान बाध्य छौँ”, स्थानीय सुनिता माझीले भने।

    स्वास्थ्य सेवाको पहुँचभन्दा टाढा

    सहज स्वास्थ्य सेवा पाउन नसक्दा माझीटारवासीले सधैँ जोखिमको जीवन बिताउनुपरेको महादेव आधारभूत विद्यालयका शिक्षिका समेत रहनुभएकी सुनिताले बताए। उनका अनुुसार सबैभन्दा बढी त्यहाँका महिलाले प्रजनन् स्वास्थ्यमा जोखिमको सामना गर्नुपरेको छ।

    जनचेतनाको अभावका कारण प्रजनन स्वास्थ्यबारे अपनाउनुपर्ने सजगताका विषयमा माझीटारका महिला बेखबर छन्। खोलाको पानी पिउँदा बालबालिका पानीजन्य रोगका शिकार हुने गरेका छन्। भर्खरै बनेको नयाँ संरचनाको स्थानीय तहले पनि सो ठाउँका बासिन्दालाई उपेक्षा गरेको छ।

    नयाँ बनेको स्थानीय तहअनुसार माझीटारवासीले वडा केन्द्रबाट सेवा लिन तीन घन्टा टाढाको सल्लेरी पुग्नुपर्नेछ भने गाउँपालिका केन्द्रबाट सेवा लिन एक दिन हिड्नुपर्छ। “चुनाव आउँदा खानेपानी, बिजुली र अरु सुविधा दिन्छौँ भन्दै नेताहरु आउँछन् चुनाव सकिएपछि अहिलेसम्म कोही पनि फर्केर आएका छैनन्” उजले भने।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij