आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

विश्वकप २०२२ छनोट : नेपाल सिधै दोस्रो चरणमा

  • प्रकाशित मिति : शुक्रबार, चैत्र २९, २०७५



  • काठमाडौँ — पछिल्लोपल्टको फिफा वरीयतामा एसियाको शीर्ष ३४ स्थानमा रहेपछि नेपाली राष्ट्रिय फुटबल टिमले विश्वकप २०२२ छनोटमा सिधै दोस्रो चरणमा प्रतिस्पर्धा गर्ने भएको छ ।

    सन् १९८६ को संस्करणबाट विश्वकप छनोटमा प्रतिस्पर्धा गर्न थालेको नेपालले पहिलोपल्ट ‘बाई’ पाएर सिधै दोस्रो चरणमा खेल्ने अवसर पाएको हो ।

    अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले पछिल्लोपल्ट ४ अप्रिल, २०१९ मा जारी गरेको वरीयतामा नेपाली पुरुष टिम १ सय ६१ औं स्थानमा रहेको थियो, जुन एसियाली वरीयतामा ३४ औं स्थान हो ।

    एसियाली फुटबल महासंघ (एएफसी) का अनुसार एसियाली वरीयताका शीर्ष ३४ टिमले छनोटको दोस्रो चरणमा प्रतिस्पर्धा गर्ने जनाएको छ । त्यसैअनुसार नेपालले विश्वकप छनोटमा पहिलोपल्ट सिधै दोस्रो चरणमा प्रतिस्पर्धा गर्ने मौका पाएको छ । वरीयतामा पुछारका १२ टिम (३५–४६ औं) प्ले–अफबाट गुज्रिनेछन् ।

    नेपालले विश्वकप छनोटमा प्रवेश गरेको ३३ वर्षे इतिहासमा सन् २०१४ को संस्करणमा मात्र प्रारम्भिक चरण पार गरेर दोस्रो चरण खेलेको थियो । दशरथ रंगशालामा भएको प्ले–अफमा टिमोर लेस्टेलाई २–१ र ५–० ले पराजित गरेको नेपाली टिम त्यस बेला दोस्रो चरणमा जोर्डनविरुद्ध हारेको थियो । अम्मानमा ९–० ले हारेको पाँच दिनभित्रै नेपालले भरत खवासको आकर्षक गोलसँगै घरेलु मैदानमा भएको दोस्रो लेगमा जोर्डनलाई १–१ मा रोकेको थियो ।

    नेपालले पछिल्लोपल्ट कुवेतविरुद्ध दुई मैत्रीपूर्ण खेल खेलेको थयो । कुवेती भूमिमा तीन साताअघि भएको खेलमा पहिलो प्रतिस्पर्धा गोलरहित टुंग्याएको नेपाल दोस्रोमा १–० ले हारेको थियो । फिफा वरीयताको १ सय ५६ औं स्थानमा रहेको कुवेतले पनि सिधै विश्वकपको दोस्रो चरणमा खेल्नेछ ।

    एसियन कप पनि

    विश्वकप २०२२ छनोटलाई एएफसीले एसियन कप २०२३ को छनोटका रूपमा पनि लिएको छ । त्यस्तै पछिल्लो संस्करणमा पनि दुई प्रतिष्ठित प्रतियोगिताको छनोट उस्तै संरचनामा भएको थियो । त्यसमा नेपाली टिम प्ले–अफमै भारतविरुद्ध हारेको थियो । एएफसी सोलिडारिटी कप २०१६ विजेता भएपछि नेपालले अनपेक्षित रूपमा एसियन कप २०१९ छनोटको तेस्रो चरणमा खेल्ने अवसर पाएको थियो ।

    राष्ट्रिय टिमको चार वर्षयताको नतिजाको आधारमा फिफा वरीयता तय गरिन्छ । त्यस प्रणालीमा ९९६ अंक जोडदै नेपाल १ सय ६१ औं स्थानमा रहेको हो । एसियामा नेपालभन्दा पछाडि मलेसिया (१६८), कम्बोडिया, मकाउ, लाओस, भुटान, मंगोलिया, बंगलादेश, ग्वाम, ब्रुनाई, टिमोर लेस्टे, पाकिस्तान र श्रीलंका छन् । उनीहरूमध्ये जुन, २०१९ मा हुने प्ले–अफ पार गर्ने ६ टिमले दोस्रो चरणमा मौका पाउनेछन् ।

    एएफसी प्रतियोगिता समितिका अनुसार शीर्ष ३४ वरीयताका टिम र प्ले–अफबाट आउने ६ गरी कुल ४० टिम दोस्रो चरणमा हुनेछन् । पाँच–पाँच टिमलाई आठ समूहमा विभाजन गरी सेप्टेम्बर, २०१९ देखि जुन २०२० सम्म होम एन्ड अवेको आधारमा दोस्रो चरण सञ्चालन गरिनेछ ।

    त्यसबाट समूह विजेता (८) र उपविजेतामध्ये उत्कृष्ट चार गरी १२ टिम विश्वकप २०२२ छनोटको फाइनल चरणमा प्रवेश गर्नेछन् । त्यससँगै ती दर्जन टिम एसियन कप २०२३ मा पनि छनोट हुनेछन् । अरू २४ टिम एसियन कपको छनोटमा कायमै रहने पनि एएफसीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij