प्रकाशित मिति : सोमवार, बैशाख २३, २०७६
काठमाडौँ । शिक्षा, विकास तथा मानव स्रोत विकास केन्द्रले स्थायी शिक्षक पदस्थापनाका लागि गत महिना रोक्का गरेको शिक्षक सरुवा फुकुवा गरेको छ। शिक्षक सेवा आयोगको आन्तरिक प्रतिस्पर्धाबाट सफल शिक्षकको पदस्थापन हुन थालेपछि विभागले गत चैत ११ मा सरुवा रोक्न निर्देशन दिएको थियो।
विभागका महानिर्देशक बाबुराम पौडेलले आन्तरिकतर्फको पदस्थापन र अवकाशका कारण कतिपय विद्यालयमा शिक्षक व्यवस्थापन गर्न कठिनाइ भएको गुनासो आएपछि आइतबार सबै शिक्षा, विकास तथा समन्वय एकाइलाई पत्राचार गरी शिक्षक सरुवा फुकुवा गरेको जानकारी दिए।
संविधानतः विद्यालय तहको शिक्षा व्यवस्थापनको जिम्मेवारी स्थानीय तहको भए पनि शिक्षक नियुक्ति र अन्तर जिल्ला सरुवा केन्द्र सरकारको शिक्षा एकाइको स्वीकृतिमा हुँदै आएको छ।
विभागले पदस्थापन सकिएपछि रिक्त रहन आएमा, खुला प्रतियोगितात्मक विज्ञापनमा समावेश नभएका पद किटान गरी त्यस्तो परीक्षामा असर नपर्ने र दरबन्दी कटौती नहुने अवस्थामा सरुवा गर्न निर्देशन दिइएको छ।
सरुवा गर्दा आफ्नो जिल्लाभित्र र अन्तर जिल्लाको समान तहको रिक्त पद तथा विषयको दरबन्दीमा कार्यरत शिक्षकलाई सम्बन्धित स्थानीय तहको समन्वयमा प्रचलित ऐन, कानूनअनुसार गर्न सकिने पनि विभागले जनाएको छ। शिक्षक सरुवाका लागि सम्बन्धित दुवै विद्यालयको सहमति, स्थानीय तहको सिफारिस र समन्वय एकाइको स्वीकृति आवश्यक पर्छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij