प्रकाशित मिति : आइतवार, बैशाख २९, २०७६
काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका फ्रेन्च मिडफिल्डर पाउल पोग्बाले स्पेनिस बार्सिलोनाका लिओनल मेस्सी र इटालियन युभेन्टसका क्रिस्टियानो रोनाल्डोमाथि दोष लगाउँदै गुनासो पोखेका छन् । उनले यो भनेका छन् कि, रोनाल्डो र मेस्सीकै कारण आधुनिक फुटबलमा नयाँ खेलाडी र प्रतिभाले फैलिने मौका पाएनन् ।
सन् २०१८ मा फ्रान्सलाई विश्वकपको उपाधि जिताएका पोग्बाले लामो समयसम्म रोनाल्डो र मेस्सीले उच्चस्तरको प्रदर्शन गर्दा त्यसको असरस्वरूप आधुनिक फुटबलमा अन्य खेलाडीको स्तरमाथि प्रश्न उठिरहेको बताए । मेस्सी र रोनाल्डोले जसरी १० वर्षदेखि विश्व फुटबलमा राज गरिरहेका छन्, यस्तो फेरि नदोहोरिने उनको भनाइ छ ।
३४ वर्षीय रोनाल्डो र ३१ वर्षीय मेस्सीले अहिले पनि शानदार प्रदर्शन गरिरहँदा अन्य खेलाडीबाट पनि सोही स्तरको प्रदर्शनको माग र अपेक्षा हुने हुँदा अन्य राम्रा खेलाडीमाथि अन्याय भइरहेको पोग्बाले बताए । ‘मेस्सी र रोनाल्डोले यो एक दशकमा जसरी प्रदर्शन गरिरहेका छन्, त्यो एकदमै असामान्य छ । फुटबलमा पुनः यस्तो समय नदोहोरिन सक्छ । किनभने, १० वर्षसम्म यो स्तरको प्रदर्शन चानचुने होइन,’ पोग्बाले भने ।
पोग्बाले विगतमा एक सिजनमा बढीमा २०–२५ गोलको आँकडा बन्ने गरेकोमा रोनाल्डो र मेस्सी आएपछि त्यो बढेर ५० भन्दा माथि पुगेको बताए । ‘जब रोनाल्डो र मेस्सीले १० वर्षयता हरेक सिजन ५० भन्दा बढी गोल गरिरहेका छन् भने अन्य खेलाडीबाट त्यस्तै अपेक्षा हुन्छ, जुन ज्यादै कठिन हो,’ उनले थपे ।
पोग्बाले यो पनि बताएका छन् कि, आधुनिक फुटबल निकै माथिल्लो स्तरको छ । र, यो अझै सुध्रिनेक्रममा छ । ‘मेरो विचारमा आधुनिक फुटबलबको स्तर निकै माथि छ । व्यक्तिगत रूपमा मेरो कुरा गर्दा मैले लुइस फिगो, फ्रान्सेसको टोट्टीजस्ता खेलाडीको खेल हेरेर फुटबल सिकें । उनीहरूले आफ्नो करिअरमा हरेक सिजन २० गोल गर्न सकेका थिएनन्,’ पोग्बाले भने, ‘तर, रोनाल्डो र मेस्सीले जसरी हरेक सिजन जति गोल गरिरहेका छन्, त्यसले यही समयमा खेलिरहेका अन्य राम्रा खेलाडीमाथि दबाब राखेको छ ।’
गत वर्ष फ्रान्सलाई विश्वकप जिताउँदा पोग्बा टोलीका महत्त्वपूर्ण सदस्य थिए । उनले यो सिजन क्लब युनाइटेडका लागि ४३ खेल खेल्दै १५ गोल गरेका छन् भने ९ गोलका लागि असिस्ट गरेका छन् । गोलका हिसाबले पोग्बाको यो सबैभन्दा सफल सिजन हो । पोग्बालाई नयाँ सिजनमा स्पेनिस रियल मिड्रडले भित्र्याउने तयारी गरिरहेको खबर आइरहेका छन् । उनले विगतमा इटालियन युभेन्टसबाट समेत खेलिसकेका छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij