प्रकाशित मिति : सोमवार, जेष्ठ ६, २०७६
काठमाडौं। मोटरसाइकल दुर्घटनाबाट हुने सम्भावित जोखिमलाई न्यूनीकरण गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकामा दुईपांग्रे सवारीसाधन मोटरसाइकल र स्कुटरको पछाडि बस्नेले हेलमेट लगाउनुपर्ने नियम शुरु गर्न लागेको छ।
यस्तै नियम आजभन्दा १७ वर्षअघि पनि लागु गरिएको थियो। काठमाडौ उपत्यकामा मोटरसाइकलको संख्या मात्र ९ लाख पुगेको छ। उपत्यकामा दैनिक रुपमा सञ्चालन हुने १२ लाख सवारीसाधनमध्ये मोटरसाइकलको संख्या मात्र ९ लाखभन्दा बढी पुगेको हो। ट्राफिक प्रहरीका प्रवक्ता जयराज सापकोटाले उपत्यकामा ९ लाखभन्दा बढी मोटरसाइकल सञ्चालन हुने गरेको बताए। उनले भने– ‘मोटरसाइकलको पछाडि बस्नेले पनि हेलमेट लगाउनुपर्ने नियम प्रस्ताव गरेर विभागलाई पठाउन लागेका छौं।’
तत्कालीन सरकारले २०५९ सालमा हेलमेट लगाउने नियम लागू गरेको थियो। तर उक्त निर्णयको विरोध भएपछि सुरक्षाको कारण भन्दै २०६१ सालमा पुनः पछाडि बस्नेले हेलमेट लगाउनु नपर्ने निर्णय भएको थियो। १४ वर्षपछि ट्राफिक प्रहरीले पुनः पछाडि बस्नेले पनि हेलमेट लगाउनुपर्ने प्रस्ताव अगाडि सारेको छ।
यातायात व्यवस्था विभागका प्रवक्ता तीर्थराज खनालले विगतमा पनि लागू गर्ने अभ्यास असफल भएकाले पुनः कार्यान्वय हुनेमा आशंका रहेको बताए। ‘उपत्यमा अत्यधिक रुपमा गुडाउने सडक नै छैन, चालक जिम्मेवार बन्ने विषय हो, यातायात व्यवस्था ऐनमा नै हेलमेट लगाउनुपर्ने कुरा उल्लेख गर्न जरुरी छैन’ –उनले भने।
काठमाडौँमा हुने दुईपांग्रे सवारीसाधनको दुर्घटनालाई विश्लेषण गर्दा हेलमेट लगाएको चालकभन्दा पछाडि बस्ने व्यक्ति घाइते भएको र मृत्यु दरसमेत पछाडि बस्नेको बढी भएकोले मोटरसाइकल र स्कुटर पछाडि बस्नेले अनिवार्य हेलमेट लगाउनुपर्ने व्यवस्था गर्न लागेको हो । आइतवार पत्रकार सम्मेलन गर्दै महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी वसन्तकुमार पन्तले यातायात व्यवस्था ऐनमा संशोधन गरी हेलमेट अनिवार्य रुपमा लगाउनुपर्ने व्यवस्था गर्न लागिएको बताए।
विगतमा पनि महाशाखाले दुवै जनाले हेलमेट लगाउनुपर्ने व्यवस्था लागू गरेको थियो। तर ऐनविनै दुई हेलमेटको नियम ल्याएको भन्दै विरोध भएपछि महाशाखा उक्त व्यवस्था हटाउन बाँध्य भएको थियो।
महानगरीय ट्राफिक प्रहरी महाशाखाको अनुसार उपत्यकामा हाल दैनिक ९ लाखभन्दा बढी मोटरसाइकल गुड्छन् । महाशाखाले तत्कालीन बागमती यातायात कार्यालयमा १० लाख र प्रदेश नम्बर ३ को यातायात कार्यालयमा ३० हजारभन्दा बढी मोटरसाइकल दर्ता भएको बताइएको छ। नेपाल समाचारपत्र दैनिक
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij