प्रकाशित मिति : बिहिबार, जेष्ठ ९, २०७६
बैतडी : बैतडीको पुर्चौंडीमा एकैघरका तीनजनाको जलेर मृत्यु भएको छ। पुर्चौडी नगरपालिका ५ कुवाकोट घर भई पुर्चौडी नगरपालिका ७ बसपार्कमा टहरा बनाई बस्दै आएका अन्दाजी ४५ वर्षीय करे लुहारसहित उनकी ४० वर्षीया श्रीमती ब्रिन्दा लुहार र ८ वर्षीय छोरा मनोज लुहारको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ।
खाना खाएर टहरामा सुतेका बेला चुल्होको आगो एक्कासी सल्केर आगलागी हुँदा उनीहरुको मृत्यु भएको हो। बुधबार राति करिब पौने १० बजेतिर आगो लागेको भएपनि करे लुहारको परिवारलाई भने बचाउन नसकिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक नेत्रमणी गिरीले जानकारी दिए । उनले भने ‘बसपार्क छेउमै रहेको टहरामा आगलागि हुँदा प्रहरी र स्थानीय पुगेका थिए। तर आगो सल्किसकेकाले बचाउन सकिएन। लाश मात्रै बाहिर निकाल्न सकियो।’
प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएपनि प्रहरी र स्थानीय घटनास्थल पुग्दा उनीहरु जलिसकेका थिए। मजदुरी गरेर तथा मागेर जीवन निर्वाह गर्दै आएका लुहार परिवार ७ वर्ष देखि बसपार्कमा टहरो बनाइ बस्दै आएका पुर्चौडी नगरपालिकाका स्वास्थ्य संयोजक विनोद कुँवरले बताए।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij