प्रकाशित मिति : शुक्रबार, जेष्ठ १०, २०७६
एजेन्सी – एकदिवसिय विश्वकप सुरु हुन अब मात्र छ दिन बाँकी छ । ३० मे देखि जुलाई १४ सम्म इंग्ल्यान्ड र वेल्समा संयुक्त रुपमा चल्ने विश्वकपमा तीन देश भारत, अष्ट्रेलिया र इंग्ल्यान्डलाई उपाधिको प्रमुख दाबेदार मानिएको छ ।
सन् १९७५ देखी सुरु भएको विश्वकपमा हालसम्म अष्ट्रेलिया ५ पटक उपाधि जितेको छ । भारत र वेस्ट इन्डिजले समान २ तथा श्रींलका र पाकिस्तानले पनि एक – एक पटक उपाधि सफल भएका छन् । यस्तै क्रिकेटको जन्मथलो इंग्ल्याण्डले भने एक पटक पनि उपाधि जितेको छैन्।
घरेलु लिग होस वा विश्वकप कुनै पनि टोलीलाई विशाल लक्ष्यतर्फ डोर्याउन ओपनर जोडीको उत्कृष्ट साझेदारी र प्रर्दशन आवश्यक पर्छ । उत्कृष्ट ओपनर साझेदारी बिना ठूलो योगफलको संभावना कम रहन्छ । सन् २०११ श्रीलंकाका उपुल थरंगा र तिलकरत्ने दिल्सानले जिम्बावेविरुद्ध गरेको २ सय ८२ रनको साझेदारीनै विश्वकपको उच्च साझेदारी हो । यस पटक विश्वकपमा सबै टोलीले आफ्नो उत्कृष्ट ओपनर मैदान उतार्ने तरखरमा छन् । यस पटकका विश्वकपका उत्कृष्ट तीन ओपनर जोडी यस प्रकार रहेका छन् ।
भारतीय टोलीका ओपनर रोहित शर्मा र शिखर धवन बर्तमान क्रिकेटकै सर्वोत्कृष्ट जोडीका रुपमा चिनिन्छन् । सन् २०१३ बाट सुरु भएको यी दुईको साझेदारी २०१९ सम्म १ सय १ खेलमा ४५ सय ४१ रनको साझेदारी गरेका छन् । जसमा १५ पटक शतक र १३ पटक अर्ध शतक साझेदारी भएको छ । उत्कृष्ट साझेदारी २ सय १० रनको छ ।
पछिल्लो दुई वर्ष यता भारतको अधिकांश जित धवन र रोहितको प्रर्दशन निर्भर हुँदा विश्वकपमा यी दुईको प्रर्दशन निकै महत्वपूर्ण हुने छ । रोहित एक मात्र त्यस्ता ब्याट्सम्यान हुन् जसले ओडीआई खेलमा ३ पटक दोहोरो शतक प्रहार गर्ने दुर्लभ कीर्तिमान राखेका छन् ।
यी दुईले इंग्ल्यान्डको मैदानमा पछिल्लो पटक च्याम्पियनशिप ट्रफिको ५ खेलमा २ शतक र १ अर्ध शतकको उत्कृष्ट साझेदारी गरेका थिए । रोहितले २ सय ६ ओडीआई खेलमा २२ शतक र ३ दोहोरो शतक र ४१ अर्ध शतक सहित कुल ८ हजार १० रन बटुलेका छन् । त्यस्तै धवनले १ सय २८ खेलमा १६ शतक र २७ अर्ध शतक सहित ५ हजार ३ सय ५५ रन बटुलेका छन् ।
इंग्ल्यान्डका ओपनर जोसन रोय र जोनी बेयरस्ट्रोले पछिल्लो समय उत्कृष्ट प्रर्दशन गर्दै आएका छन् । जोनी बेयरस्ट्रोले सन् २०११ मा डेब्यू गरे पनि टोलीमा निरन्तर मौका पाएनन् । पछिल्लो एक वर्ष यता इंग्ल्यान्डले बेयरस्ट्रो र रोयलाई पहिलो रोजाईको ओपनरको रुपमा मैदान उतादै आएको छ ।
दुवै अनुभवी ओपनर जोडीलाई घरेलु मैदानको बारे राम्रोसँग थाहा छ । जसको फाईदा विश्वकपमा पुग्न सक्छ । रोय आक्रमक खेल खेल्न माहिर छन् भने बेयरस्ट्रो टोलीको आवश्यकता अनुसार खेल्न सक्छन्। यी दुईले केहि दिन अघि पाकिस्तानसँगको पाँच ओडीआई सिरिज अन्तर्गत दोस्रो र तेस्रो खेलमा लगातार शतकीय साझेदारी गरेका थिए ।
बेयरष्ट्रोले ५७ ओडीआईमा ७ शतक र ९ अर्ध शतक सहित कुल २ हजार ३ सय २९ रन जोडेका छन्। रोयले ७६ ओडीआईमा ८ शतक र १४ अर्ध शतक सहित कुल २९ सय ३८ रन जोडेका छन् । घरेलु मैदानमा यी दुई ओपनरले उत्कृष्ट साझेदारी गर्दै इंग्ल्यान्डको जित पक्का गर्न सक्छन् ।
यस विश्वकपमा डेविड वार्नर र कप्तान आरोन फिन्चले उत्कृष्ट साझेदारी गर्न सक्ने अनुमान गरिएको छ । सन् २०१४ बाट ओपनर जोडीको रुपमा ब्याटिङ गर्न लागेका यी दुईले सन् २०१८ सम्म ४८ खेलमा कुल २१ सय २६ रनको साझेदारी गरेका छन् । ५ पटक शतक र १० पटक अर्ध शतकको साझेदारी गर्दा उत्कृष्ट साझेदारी २ सय ३१ रनको छ । आक्रमक शैलीमा ब्याटिङ गर्ने दुई ओपनरले आफ्नो लय समातेपछि विश्वका बुनै पनि बलरले उनिहरुलाई रोक्न मुस्किल नै पर्छ ।
अघिल्लो वर्ष बल टेम्परिङ काण्डका कारण वार्नरलाई एक वर्ष प्रतिबन्ध परेपछि यी दुईको जोडी छुटेको थियो । प्रतिवन्ध सकिएसँगै आईपीएलमा उत्कृष्ट प्रर्दशन गर्दै सर्वाधिक रन बनाउने खेलाडी बनेका वार्नरले विश्वकपमा पनि त्यस्तै शानदार प्रर्दशन गर्ने अनुमान गरिएको छ । वार्नरले १ सय ६ एकदिवसीमा १४ शतक १७ अर्धशतक सहित कुल ४ हजार ३ सय ४३ जोडेका छन् भने उनको सर्वाधिक स्कोर १७९ रन रहेको छ। पछिल्लो समय उत्कृष्ट लयमा रहेका कप्तान फिन्चले १ सय ९ खेलमा १३ शतक,२१ अर्धशतक सहित कुल ४ हजार ५२ रन जोडेका छन्। उनको सर्वाधिक स्कोर १ सय ५३ रनको अविजित छ । विश्वकपको दाबेदार मानिएको अष्टे«लियाको लागि यी दुईको प्रर्दशन पनि निकै महत्वपूर्ण हुने छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij