प्रकाशित मिति : सोमवार, जेष्ठ २०, २०७६
एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाका कप्तान लियोनल मेस्सी यस सिजनको च्याम्पियन्स लिगमा सर्वाधिक गोलकर्ता बनेका छन् । यस सिजन १२ गोल गर्दै मेस्सीले सर्वाधिक गोलकर्ताको रुपमा सिजनको अन्त्य गरेका छन् । बार्सिलोनालाई च्याम्पियन्स लिगको फाइनलमा पुर्याउन असफल भएपनि मेस्सी सर्वाधिक गोलकर्ता चुनिएका हुन् ।
मेस्सीले वायर्न म्युनिखका रोबर्टो लेवान्डोस्कीलाई ४ गोलले पछि पारे । लेवान्डोस्कीले ८ गोल गरे । मेस्सी सन् २०१४/१५ को सिजनपछि पहिलो पटक सर्वाधिक गोलकर्ता चुनिएका हुन् । योसंगै मेस्सीले युभेन्ट्सका स्टार क्रिस्टियानो रोनाल्डोको दबदबामा पूर्णविराम लगाईदिएका छन् ।
यसअघि लगातार तीन सिजन रोनाल्डो सर्वाधिक गोलकर्ता चुनिएका थिए । रोनाल्डो हालसम्म ७ सिजन सर्वाधिक गोलकर्ता चुनिएका छन् । मेस्सी भने ६ सिजन सर्वाधिक गोलकर्ता बनेका छन् । सन् २०१४/१५ को सिजन भने मेस्सी, रोनाल्डो र नेयमारले समान १०/१० गोल गर्दै संयुक्त रुपमा शीर्ष स्थानमा रहेका थिए ।
यस सिजन रोनाल्डो भने चौंथो स्थानमा रह्यो । रोनाल्डोले यस सिजन ६ गोल गरे । ६ गोल नै गरेका सिटीका सर्जियो अग्युरो तेस्रो स्थानमा रहे । यस सिजन ५ गोल गरेका नेयमार नवौं स्थानमा रहे । यस सिजनको च्याम्पियन्स लिगको उपाधि भने लिभरपुलले उचाल्यो । शनिबार राति भएको फाइनलमा लिभरपुलले अर्को टोटेनहमलाई २–० गोल अन्तरले पराजित गरेर उपाधि जितेको हो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij