प्रकाशित मिति : शनिबार, असार ७, २०७६
काठमाडौं। डेढ वर्षदेखि पेरिस सेन्ट जर्मेनका ब्राजिलियन सुपरस्टार नेइमारलाई अनुबन्ध गर्न प्रयासरत रियल मड्रिड एक्कासी पछि हटेको छ । रियलले प्रयास गरिरहेका बेला नेइमारलाई पिएसजीले बेच्न अस्वीकार गरिरहेको थियो र नेइमार स्वयं पनि पिएसजी छाड्न तयार थिएनन् । अहिले पिएसजी पनि नेइमारलाई बेच्न तयार छ र नेइमार पनि पिएसजी छाड्न तयार छन् । यस्तो अवस्थामा रियल मड्रिड भने एक्कासी पछि हटेको छ ।
२०१७ मा बालोन डिओर गालाको लागि पेरिस गएका बेला रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले नेइमारलाई अनुबन्ध गर्न इच्छा देखाएका थिए । तर, त्यतिबेला नेइमारले भने रियल जान इच्छा देखाएनन् । नेइमारले इच्छा नदेखाएपछि रियल पनि चुप लागेर बसेको थियो । तर, अहिले १३ पटकको च्याम्पियन रियलको निराशाजनक प्रदर्शनपछि उसले पुनः नेइमारलाई ल्याउने चाहना देखाएको थियो ।
केही समयअघि रियलले यस विषयमा एक सर्वेक्षण गरेको थियो । सर्वेक्षणमा फ्यानहरुले भने नेइमारलाई ल्याउने कुरामा सहमति देखाएनन् । फ्यानहरुले नरुचाएपछि रियल नेइमारलाई ल्याउने विषयमा ब्याकफुटमा आयो । यससँगै कोपा डे फ्रान्समा पराजयपछि नेइमारले फ्यानलाई आक्रमण गरेको, हालैको बलात्कारको आरोप लगायतका कारण रियल उनलाई ल्याउने कदमबाट पछि हट्यो । यसबाहेक इडेन हजार्डको अनुबन्धको घोषणा कार्यक्रममा पनि फ्यानले एम्बाप्पेलाई अनुबन्ध गर्न दबाब दिँदै नाराबाजी गरेका थिए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij