प्रकाशित मिति : आइतवार, असार ८, २०७६
काठमाडौं। यति बेला बेलायतमा क्रिकेटको महाकुम्भ चलिरहेको छ । विश्वभरका क्रिकेट पण्डितहरुको ध्यान बेलायततर्फ छ । शुरुमा जारी प्रतियोगिताका खेलहरु रोमाञ्चक नभएपछि पछिल्ला दिनहरुमा भने सबै खेलहरु रोमाञ्चक भइरहेका छन् ।
इंग्ल्याण्डलाई श्रीलंकाले पराजित गर्दा होस वा शनिबार भारत र अफगानिस्तानबीचको खेल वा शनिबारै न्यूजिल्याण्ड र वेष्टइण्डिजबीचको खेल । यी सबै खेलहरुमा क्रिकेटको पूरा रोमाञ्चकता थियो ।
शनिबार दुई पटकको विश्व विजेता भारत नयाँ नयाँ क्रिकेट टिम अफगानिस्तानसाग हार नजिक पुगेर जोगियो । जब भारतीय कप्तान विराट कोहलीलाई हारको डर लाग्यो, उनले मैदानमा आफ्नो होसम गुमाउन पुगे । जसले गर्दा उनी अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको कारबाहीमा परेका छन् ।
कोहलीले आईसीसीको आचारसंहिता उल्लंघ गरेको ठहर भएको छ । आईसीसीले उनलाई अन्तर्राष्ट्रिय खेलमा अनावश्यक आउटको अपील गरेकोमा दोषी ठहर गर्दै म्याच फीको २५ प्रतिशत जरिमाना तिराउने निर्णय गरेको छ ।
आईसीसीले आइतबार एक विज्ञप्ति जारी गर्दै कोहलीलाई कारबाही गरेको पुष्टि गरेको छ । आईसीसीको आचार संहिता लेभल १ मा कोहली दोषी ठहर भएका छन् । कोहलीले अफगानिस्तानले ब्याटिंग गर्दा २९ औं ओभरमा फिल्ड अम्पाएर अलिन डारसँग कोहलीले आउटका लागि आक्रामक अपील गरेका थिए ।
कोहलीले आफुमाथिको कारबाही स्वीकारसमेत गरेको बताइएको छ । कोहलीमाथि म्याच फी जरिमानाका साथै एक डिमेरिट पनि दिइएको छ । अब उनीमाथि आईसीसीका दुई डिमेरिट भएका छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij