प्रकाशित मिति : आइतवार, असार १५, २०७६
एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटअन्तर्गत आइतबार आयोजक इङ्ल्यान्ड र अपराजित भारतबीच प्रतिस्पर्धा हुँदैछ । नेपाली समयअनुसार दिउसो ३ः१५मा सुरु हुने खेलमा दुवै टोली जित निकाल्दै सेमिफाईनल पुग्ने लक्ष्यमा हुनेछन्। उक्त खेल बर्मिंघस्थित एजबस्टन मैदानमा हुनेछ।
जारी विश्वकपमा उपाधि दाबेदारको रुपमा लिएका यी दुई टोली मध्ये अहिलेसम्म भारतको प्रदर्शन राम्रो रहेको छ। तर आयोजक इंग्ल्याण्डले भने पछिल्लो समयमा लय गुमाएको छ। आजको खेलमा भारतसँग पराजित भएमा इंग्ल्याण्डको विश्वकप यात्रा लगभग समाप्त हुनेछ। तर जित निकाल्यो भने सेमिफाईनल पुग्ने सम्भावना जिवित रहनेछ। यता दुई पटकको विश्वकप च्याम्पियन भारत पनि आफ्नो अपराजित यात्रा कायम राख्दै सेमिफाईनलमा पुग्न चाहन्छ ।
जारी विश्वकपमा हालसम्म ६ खेल खेलेको भारत अपराजित टोली हो । पाँच खेल जितेको भारतको एक खेल भने वर्षाका कारण रद्द भएको थियो । भारत बलियो र सन्तुलित टोलीका रूपमा देखिएको छ । यसैगरी इङ्ल्यान्डले सात खेल खेलिसकेको छ । इङ्ल्यान्डले चार खेलमा जित र तीन खेलमा हारको नतिजा निकालेको छ । यस विश्वकपमा आयोजक इङ्ल्यान्ड पनि बलियो देखिएको छ । इङ्ल्यान्डको ब्याटिङ, बलिङ र फिल्डिङ सबै उत्कृष्ट छ । घरेलु मैदान र समर्थकको साथ पनि इङ्ल्यान्डलाई छ । त्यसैले भारतविरुद्ध इङ्ल्यान्डले उच्च स्तरको प्रदर्शन गर्ने योजना बनाएको छ ।
यसअघि एकदिवसीय क्रिकेटमा यी दुई टोलीको भिडन्तमा भारत बलियो देखिएको छ । यी दुई टोलीबीच अहिलेसम्म ९९ वटा एकदिवसीय खेल भएका छन् । भारतले ५३ खेलमा जित हात पारेको छ । इङ्ल्यान्डले भने ४१ खेल जितेको छ । दुई खेल बराबरीमा सकिएको छ भने तीन खेल अनिर्णित भएको छ ।
भारत र इङ्ल्यान्ड पहिलो संस्करणदेखि नै विश्वकपमा सहभागी बन्दै आएका छन् । भारतले दुई संस्करणको उपाधि जितिसकेको छ । इङ्ल्यान्डले भने विश्वकप अहिलेसम्म जित्न सकेको छैन । एकदिवसीय विश्वकपमा यी दुई टोलीबीच सात पटक भिडेका छन् । दुवै टोलीले तीन÷तीन खेल जितेका छन् भने एक खेल अनिर्णित बनेको थियो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij