प्रकाशित मिति : बुधबार, साउन ८, २०७६
एजेन्सी । स्पेनिस क्लब रियल मड्रिडले आर्सनलसंग बराबरी खेलेको छ । बुधबार बिहान भएको अन्तर्राष्ट्रिय च्याम्पियन्स कप खेलमा स्पेनिस महारथी क्लबले लण्डन क्लब आर्सनलसंग २–२ गोलको बराबरी खेलेको हो ।
पहिलो हाफमा २–० ले पछाडी परेको रियललाई ग्यारेथ वेल र मार्कोस एसेन्सियोले एक एक गोल गर्दै रियललाई हारबाट जोगाएका हुन् । खेलको नवौ मिनेटमा नाचो फर्नाल्डेज दोहोरो पहेलो कार्ड खादै मैदान बाहिरिएपछि रियल १० खेलाडीमा सिमित बनेको थियो ।
दशौ मिनेटमा अलेक्जेन्डर लेकाजेट र २४ औ मिनेटमा पिरे एमिरिक एबुमियाङले गोल गर्दै आर्सनललाई २–० को अग्रता दिलाएका थिए । तर दोस्रो हाफमा मैदान छिरेका वेलले ५७ औ मिनेटमा एक गोल गर्दै रियललाई खेलमा फर्काउने कोशिश गरे । एसेन्सियोले ५९ औ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।
नतिजासंगै प्रि–सिजन टूरमा आर्सनलको जितको श्रृङ्खलामा पूर्णविराम लागेको छ । उसले पछिल्ला तीन खेलमा जित निकालेको थियो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij