प्रकाशित मिति : शुक्रबार, साउन १७, २०७६
लण्डन (एजेन्सी) बिहीबार शुरु भएको इंग्ल्याण्ड र अष्ट्रेलियाबीचको एसेज टेष्ट सिरिजको पहिलो खेलमा टस जितेर पहिला ब्याटिंग गरेको अष्ट्रेलियाले पहिला इनिंगमा २८४ रन बनाएको छ ।
खराब ब्याटिंग गरेको अष्ट्रेलियाका लागि स्टिभन स्मिथले शतक बनाएपछि अष्ट्रेलियाले सम्मानजनक स्कोर बनाएको हो । पहिलो दिन खेल सकिन ८ ओभरमात्र बाँकी रहँदा अलआउट भएको अष्ट्रेलियाका लागि स्मिथले १४४ रनको संघर्षपूर्ण शतकीय पारी खेले । यो उनको २४ औं टेष्ट शतक हो।
अष्ट्रेलियाका लागि १० औं नम्बरमा ब्याटिंग गरेका पिटर सिडलले पनि महत्वपूर्ण ४४ रन बनाएका थिए। सिडल र स्मिथले ९८ रनको साझेदारी गरे। यसपछि नाथल लियोन र स्मिथले ७४ रनको साझेदारी गरे। लियोन १२ रनमा नटआउट रहे।
एक वर्षपछि टेष्ट खेलिरहेका डेविड वार्नर टिम स्कोर २ हुँदा निजी स्कोर २ मै आउट भए। टिमको स्कोरमा थप १५ रन जोडिँदा अर्का ओपनर क्यामरुन ब्रेनक्राफ्ट पनि आउट भए। तेस्रो विकेटका रुपमा उस्मान ख्वाजा आउट हुँदा टिमको स्कोर मात्र ३५ रन थियो।
९९ को स्कोरमा अष्ट्रेलियाले पाँचौ विकेटका लागि ट्रेभिस हेडलाई गुमायो। त्यसपछि ब्याटिंग गर्न आएका म्याथ्यु वेड टिमको स्कोर १०५ रन हुँदा आउट भए। कप्तान टिम पेन पनि लामो समय टिक्न सकेनन्। ११२ को स्कोरमा अष्ट्रेलियाले उनलाई पनि गुमायो।
११२ कै स्कोरमा जेम्स प्याटिसन आउट हुँदा १२२ मा पाट कमिन्स पनि आउट भए।
इंग्लयाण्डका लागि स्टुअर्ट ब्रोडले ५ र क्रिस वक्सले ३ विकेट लिएका छन् भने बेन स्टोक्स र मोइन अलीले एक एक विकेट लिएका छन्।
यो आईसीसी टेष्ट च्याम्पियनसिपको पहिलो म्याच पनि हो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij