प्रकाशित मिति : बुधबार, अशोज २९, २०७६
निलम ओली, बेलझुण्डी दाङ । नेपाल संस्कृत बिश्व विद्यालय केन्द्रिय कार्यालय बेलझुण्डी दाङको मुल ढोकामा फेरि पनि तालाबन्दी भएको छ । विभिन्न माग राखी २ विद्यार्थी संगठनहरुले ताला लगाएका हुन्न । नेपाल विद्यार्थी संघ र अनेरास्ववियु क्रान्तिकारीले ताला लगाएका हुन । विभिन्न ब्यक्तिले पटकपटक आफ्नो ब्यक्तिगत स्वार्थ सिद्ध गर्न लागी बिश्व विद्यालयमा राजनीति गर्ने हुनाले यो नेपाल कै शैक्षिक क्षेत्रको धनी संस्था धरासायी हुन पुगेको जानकारहरु बताउँछन् । 
विद्वान तपस्वी साधु योगी नरहरि नाथले संस्कृत शिक्षाको बिकाशका लागि तत्कालीन समयमा संस्कृत बिश्व विद्यालय स्थापना गर्नको लागि २०२६ साल भदौमा दाङको बेलझुण्डीमा आई खुल्ला मैदानमा चिम्टा गाडेर जग्गा संकलन गर्नुभएको थियो । उहाँले विभिन्न ब्यक्तिहरुलाई भेट्दै सबैलाई संस्कृत शिक्षाको महत्त्वको बारेमा बुझाउदैँ जग्गा संकलन गर्नुभएको जानकारहरु बताउँछ्न । दाङको बेलझुण्डी क्षेत्रबाट मात्रै ३३६ बिगाहा जमीन संकलन गरी उहाँले तत्कालीन समयमा सानो विद्यालय शुरूवात गराउनुभएको थियो ।
उहाँले त्यो विद्यालय चलाउन अरुलाई जिम्मेवारी दिई हिड्नु भएको थियो । योगी २०४३ सालमा फेरि बेलझुण्डीमा आई महेन्द्र संस्कृत बिश्वविद्यालय केन्द्रिय कार्यालय खोलेर एकचोटी देश भरी ५ वटा आंकीक क्याम्पस सुरुवात गराउनु भयो, पछि बिस्तारै क्याम्पस १४ वटा भए । बहुदलीय ब्यबस्था २०४६ सालमा आएपछि दाङबाट तत्कालीन समयमा जल्दाबल्दा स्थापित स्व. नेता खुमबहादुर खड्काले बिश्व विद्यालयका लागि केन्द्रिय स्तरबाट राम्रो सहयोग गर्नुभएकोले बिश्व विद्यालय राम्रो गतीमा अघि बढेको तत्कालीन समयका पदाधिकारी माधब राज गौतमले बताउनुभयो ।
त्यहीँ बेला यो देशमा १० बर्षे जनयुद्धको सुरुवात भएकोले एकाएक शान्ति सुरक्षा अमनचयन नहुँदा जिल्लाभर विभिन्न स्थानमा रहेका जमीनको मोहियानीको नाममा आयस्ता नदिने, जमीन कब्जामा समेत लिने काम भयो । तत्कालीन समयमा नेकपा माओवादीले आक्रमण गर्दा दाङ जिल्ला सदरमुकामका प्रमुख कार्यालयहरु, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सैनिक ब्यारेक, नेपाल बैंक लिमिटेड घोराही शाखा, मालपोत कार्यालय,नापी कार्यालय र बन कार्यालयमा लुटपाट हुनुका साथै आगजनी समेत भएको थियोे । त्यस्को प्रभाव महेन्द्र संस्कृत बिश्व विद्यालयको केन्द्रिय कार्यालयमा समेत पर्न गयो । त्यहाँ लुटपाट भयो, आगजनी भएर पुराना दस्तावेज सबै जलाईयो, संस्कृत शिक्षा बुर्जुवा शिक्षा भन्ने गरिन्थ्यो, द्वन्द्वको बेला अहिलेसम्म त्यसको प्रत्येक्ष प्रभाव बिश्व विद्यालयले भोग्नुपरेको छ । 
संस्कृत शिक्षाको लागि दाङका मजगैँया परिवारले देउखुरी विभिन्न क्षेत्रमा १२०० बिगाहा जमीन दान गरेका थिए । बिश्व विद्यालयका तत्कालीन (पदाधिकारी) उपकुलपति माधबराज गौतमले आफ्नो पहलले १३६ बिगाहा जमीन देउखुरी क्षेत्रमा ब्यबस्थापन गर्नुभएको थियो । ती २०५८ सालपछि कब्जा भएको सम्पत्तिको कस्ले चर्चेको छ १३३६ बिगाहा जमीन त्यस्को हिसाबकिताब राख्न समेत नसकेको देखिन्छ । 
यस बिश्व विद्यालयमा हालसम्म ९ वटा उपकुलपतिको नेतृत्वमा पदाधिकारीहरु नियुक्ति भएर आए, तर आफ्नो ४ बर्षे कार्यकालमा कसरी आफ्नो लागि सुबिधा लिन सकिन्छ, भ्रमण भत्ता बढी खान सकिन्छ, त्यसका लागि मात्रै पदाधिकारी केन्द्रित हुने र आफुलाई जस्ले नियुक्ति गर्यो उस्को चाकरीमा नै कार्यकाल बितेको प्रष्ट सबै माझ जगजाहेर छ।
कोहीले अहिलेसम्म कब्जा जग्गाको बारेमा चिन्ता गरेको देखिएन बाहिर गरेको जस्तो गर्ने त्यही बहानामा बैठक बोलाएर खर्च प्रसस्त गर्ने खुवाउने नेतालाई चाकरी गर्ने, तर आफ्नो फाइदा तिर केन्द्रित हुने परम्परा बसेको छ,यो परम्परा कायम रह्यो भने बिश्व विद्यालय ध्वस्त हुने देखिन्छ । 
अहिले बिश्व विद्यालयको दशौँ पटक पदाधिकारी नियुक्ति गर्दा विभिन्न कारणले सरकारले तत्काल गर्न सकेको छैन, त्यहि हुनाले ३ महिनाका लागि प्राध्यापक रमेश प्रसाद ढकाललाई उपकुलपति र बिजौरी विद्यापीठका प्राचार्य माधब अधिकारीलाई कुलसचिब नियुक्ति गरेको छ। त्यही नियुक्ति कानुन बिपरित र नाताबाद कृपावाद चाकरीको भरमा कनिष्ठ र असक्षमलाई गरियो भन्दै दुई विद्यार्थी संगठनले २७ गते देखि ताला बन्दी गरेका छन, नेबिसंघ र अनेरास्ववियु क्रान्तिकारीले तालाबन्दी गरेका हुन ।
यो बिषयमा अहिलेका ३ महिनाका नवनियुक्त उपकुलपति प्राध्यापक रमेश प्रसाद ढकाललाई तालाबन्दीको बारेमा सोध्दा उहाँ भन्नुहुन्छ, जस्ले लगाएपनी ताला लगाएर बिश्व विद्यालयलाई बन्दी बनाएर केही फाईदा छैन,केही पाईन्छ कि भनेर गरेको जस्तो लाग्छ, तर म बुझ्दै छु। 
बजेट शभाको लागि मात्रै काम गर्नु भन्ने आदेश छ । माधब अधिकारीलाई तलब खुवाउन नियुक्ति गरिएको हो । उता तालाबन्दी गर्ने अनेरास्ववियु क्रान्तिकारी स्वयंसेवक बिभागका सचिव बिष्णु चौधरीले नातावाद र कृपाबादमा बिश्व विद्यालय चलाउन खोजीएको छ, यदी यो नरोकिएको खण्डमा पहिले कुलसचिबको गाडीको साँचो खोसेका थियौ, यदी माग पुरा नगरे आगो लगाउने समेत चेतावनी दिएका छन् ।
त्यसैगरी नेपाल विद्यार्थी संघका कार्यबाहक अध्यक्ष टोपबहादुर बुढाथोकीले यदि हाम्रो मागलाई हेलचेक्राई गरियो भने अनिश्चित कालीन ताला बन्दी हुने बताएका छन् । राजनीति गर्नेले जहाँ गरेपनि सरकार जुन पार्टीको भए पनि शिक्षा क्षेत्र जुन एउटा योगीले संस्कृती जोगाउनका लागि सुरुवात गर्नुभएको थियो त्यस्तो शुद्ध स्थानमा राजनीतिकरण नभए राम्रो हुन्थ्यो कि?
यो समस्याका लागि समयमा राज्य चलाउनेहरुले अलिकति बिवाद नहुने गरि गम्भीरता पुर्बक छानबिन गरि सिनियर र अनुभवी शिक्षकहरुको प्रतिनिधित्व हुने छ भन्ने आमजनताको चाहना देखिन्छ । यदि त्यसो गरिएन भने ती सयौँ जग्गादाताहरूको सपना चकनाचुर हुने छ र हजारौं विद्यार्थीको भबिस्य अन्धकार हुने निश्चित छ त्यसैले राज्यले सोच्न जरुरी देखिन्छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij