प्रकाशित मिति : आइतवार, मंसिर २२, २०७६
काठमाडौं। नेपालमा जारी १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता अन्त्यतिर छ। शनिबारसम्म २१२ स्वर्णको टुंगो लाग्दा पदक तालिकामा दक्षिण एशियाली महारथी भारतको दबदबा कायम रहेको छ।
दक्षिण एशियाली खेलकुद महाकुम्भमा होस्ट नेपालले पनि यो पटक आश्चार्यजनक रुपमा उत्साहपूर्ण प्रदर्शन गरेको छ। नेपालमै १९९९ मा आयोजना भएको तत्कालीन साफमा ३१ स्वर्ण जितेको नेपालले त्यसयता दोहोरो अंकमा स्वर्ण पदक जित्न सकेको थिएन। यो पटक भने नेपालले त्यो रेकर्ड पनि तोडेको छ। राष्ट्रिय कीर्तिमानहरु धमाधम भत्किरहेका छन्।
१३ औं साग नेपालका तीनवटा शहरमा भइरहेको छ। नेपालले तीनै शहरमा स्वर्ण जितेको छ। काठमाडौं, पोखरा र जनकपुरधाममा सागका खेलहरु जारी छन्।
पोखरामा ९ खेल जारी छन्, जनकपुरमा एकमात्र कुस्ती। बाँकी १४ खेल राजधानी काठमाडौंमा ।
सागको शनिबार सातौं दिन नेपालले थप दुई स्वर्ण पदक जितेको छ। एक म्यारथनमा र अर्को कुस्तीमा। नेपालले शुक्रबारसम्म ४१ स्वर्ण जितेको थियो। शनिबार स्वर्ण संख्या ४३ पुर्याएको छ। नेपालको ४३ स्वर्ण, ३३ रजत र ६२ काश्यसहित पदक संख्या १३८ पुगेको छ। नेपाल पदक तालिकामा दोस्रो स्थानमा रहेको छ।
उता भारतले भने शनिबार स्वर्ण पदक संख्या सय नघाएको छ। शनिबार भारतको स्वर्ण संख्या ११० पुगेको छ। पदक तालिकाको शीर्ष स्थानमा रहेको भारत ११० स्वर्ण, ६९ रजत र ३५ काश्यसहित २१४ पदक जितेर शीर्ष स्थानमा छ।
यस्तै तेस्रो स्थानमा रहेको श्रीलंकाको ३० स्वर्ण, ५४ रजत र ८३ काश्यसहित १६८ पदक छ। यस्तै चौथो स्थानको पाकिस्तानले २१ स्वर्ण, २८ रजत र ३४ काश्यसहित ८३ पदक जितेको छ। उता पाँचौ स्थानको बांगलादेशले ७ स्वर्ण, २२ रजत र ५४ काश्यसहित ८३ पदक जितेको छ। यस्तै माल्दिभ्सको एक स्वर्ण र २ काश्य पदक छ भने भुटानको ६ काश्य पदक शनिबारसम्म पदक तालिकामा छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij