प्रकाशित मिति : बिहिबार, पुस १७, २०७६
बैतडी । मौसममा बद्ली भएसँगै बैतडीका लेकाली क्षेत्रमा हिमपात शुरु भएको छ।
खोड्पे, श्रीभावर, ढोल्यामोड, सिगासधुरा लगायतका क्षेत्रमा बिहीबार फेरि हिमपात भएको हो। मङ्सिर अन्तिम साता यो वर्ष पहिलोपटक हिमपात भएको थियो।
गएरातिदेखि मौसममा आएको परिवर्तनसँगै उच्च क्षेत्रमा हिमपात भएको स्थानीय बासिन्दाले बताएका छन्।
हिमपातका कारण बढेको चिसोले जनजीवन प्रभावित भएको खोड्पेका स्थानीय मोहन विष्टले बताए ।
हिमपातका कारण दैनिक जनजीवन प्रभावित भएको छ ।
हिमपातले बाहिर निस्कन मुस्कील भएको सुर्नया–८ का वीरबहादुर बोहराले बताए ।
चिसो बढेसँगै बस्तुभाउ स्याहारमा समस्या भएको स्थानीयले बताएका छन्।
वर्षासँगै हिमपात भएपछि किसान भने खुशी भएका छन्।
सिँचाइ नभएका क्षेत्रमा वर्षा र हिमपातले सिँचाइको काम गर्ने भएकाले किसान खुशी भएका हुन्।
हिमपातले विभिन्न रोगकीरा नष्ट हुने कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख कर्णबहादुर चन्दले बताए ।
लेकाली भेगका ठाँउमा चिसोबाट बच्न सतर्कता अपनाउन सूचना जारी गरी औषधि आपूर्तिका लागि स्थानीय तहलाई निर्देशन दिइसकेको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए।
यसैबीच हिजोरातिदेखि बैतडीमा विद्युत् सेवा अवरुद्ध भएको छ।
राति चलेको हावाहुरीले बैतडीको खोड्पे क्षेत्रको लाइनमा समस्या आएको नेपाल विद्युत् प्राधिकरण बैतडीले जनाएको छ।
विद्युत सेवा अवरुद्ध हुँदा सेवाग्राही मारमा परेका छन्।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij