प्रकाशित मिति : आइतवार, चैत्र ९, २०७६
बाल्टिमोर । नेपालीहरुको संस्था बाल्टिमोर एशोसिएसन अफ नेपालिज् इन अमेरिका(बाना)ले कोरोनाको प्रकोपबाट बच्न अमेरिकाको संघीय सरकार, राज्य सरकार र स्थानीय निकायले गरेको आह्वानलाई पालाना गर्न नेपाली समुदायलाई आग्रह गरेको छ । सोसियल डिस्ट्यान्सिंग र सरसफाईलाई महत्व दिएर पालना गर्न भन्दै बानाले यो माहामारीबाट बच्न आफ्नो सम्पूर्ण साधन स्रोत र क्षमताको प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
बानाका अध्यक्ष सुबोधविलास पन्तले मार्च २१ मा एक विज्ञप्ति जारी गर्दै कोरोना भाइरसको महामारीबाट बच्न नेपालीहरुलाई चिकित्सकहरुको परामर्श उपलब्ध गराउने गृहकार्य गरिरहेको पनि बताएका छन् । अमेरिकाको मेरिल्याण्ड क्षेत्रमा कार्यरत नेपाली डाक्टरहरुसंग यसअघि नै एकपटक अन्तक्रिया गर्दै आफ्नो फेसबुकमार्फत प्रत्यक्ष जानकारी उपलब्ध गराएको भन्दै अध्यक्ष पन्तले नेपालीहरुलाई कोरोनाको महामारीबाट सुरक्षित रहन नेपाली डाक्टरहरुसंगको सहकार्यमा हेल्प डेस्क स्थापना गर्ने तयारी गरेको जनाएका छन् ।
उनले वाल्टिमोर काउण्टीले स्थानीय बालबालिकालाई वितरण गरिरहेको दैनिक खानाबाट नेपाली समुदाय पनि लाभान्वित होउन भन्नका लागि बानाकै भवनमा काउण्टीको खाना वितरण केन्द्र राख्नेबारे पहल गरिरहेको जानकारी पनि दिएका छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij