प्रकाशित मिति : बिहिबार, साउन २२, २०७७
तनहुँ । जबर्जस्ती करणी मुद्दामा जिल्ला कारागारको थुनामा रहेका एक अभियुक्तलाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ। जिल्ला न्यायाधीश वासुदेव पौडेलको बुधबारको इजलासले भीमाद नगरपालिका–९ का शङ्कर परियारलाई जन्मकैदको फैसला सुनाएको हो।
साथै पीडितलाई क्षतिपूर्तिबापत ५० हजार पीडकबाट दिलाउने फैसला भएको अदालतका निमित्त श्रेस्तेदार जीवन पौडेलले जानकारी दिए। पूर्ण अपाङ्ग महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा विसं २०७६ मङ्सिर २ गते परियारविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो।
यसैगरी, न्यायाधीश पौडेलको इजलासले जबर्जस्ती करणी मुद्दामा थुनामा रहेका घिरिङ गाउँपालिका–५ का प्रेमबहादुर रानालाई कसुर ठहर गरी सजाय निर्धारणको लागि पेश गर्न आदेश दिएको छ। सजाय निर्धारणको लागि यही साउन २९ गते पेशी तोकिएको अदालतले जनाएको छ । घिरिङ –५ स्थित एक महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा राना पक्राउ परेका थिए।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij