सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

सदर चिडियाखाना आजबाट खुल्दै, एक व्यक्ति एक घण्टामात्र बस्न पाउने

  • प्रकाशित मिति : बिहिबार, मंसिर २५, २०७७



  • काठमाडौं । नेपालमा कोरोना संक्रमण देखिएसँगै गत चैत ७ गतेदेखि बन्द भएको ललितपुरको जावलाखेलस्थित सदर चिडियाखा विहीबारदेखि खुल्ने भएको छ ।
    नेपाल सरकारको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसीएमसी) को निर्णयपछि स्वास्थ्य सुरक्षाका आवश्यक मापदण्ड पालना गरी विहीबारदेखि चिडियाखाना खुल्न लागेको हो ।
    चिडियाखाना व्यवस्थापन प्रमुख डा. चिरञ्जीवीप्रसाद पोखरेलका अनुसार यसअघि झैँ हरेक दिन बिहान १० देखि साँझ ५ बजेसम्म अवलोकनका लागि सञ्चालन हुनेगरी नै मापदण्ड तयार गरिएको छ । तर, एक व्यक्ति बढीमा डेढ घण्टामात्र बस्न पाउने र बालबालिकालाई खेलाउन नपाइने नियम छ ।

    भिडभाड व्यवस्थापन गर्न एकपटकमा बढीमा सात सयदेखि आठ सय जनालाई मात्र चिडियाखाना प्रवेश गर्न दिइने छ । त्यसपछि अवलोकनकर्ताको संख्या धेरै भएमा जति व्यक्ति अवलोकनपछि बाहिरिन्छन् त्यति नै संख्यामा मात्र नयाँ प्रवेश गर्न दिने व्यवस्था मिलाइएको छ ।

    चिडियाखाना प्रवेश क्षेत्रमा सेनिटाइजरको व्यवस्था गरिएको छ । अवलोकनकर्ता सबैले मास्क अनिवार्य लगाउनुपर्ने छ । यसैगरी चिडियाखानाभित्र बसेर खान, वन्यजन्तुलाई खुवाउन र छुन पाइने छैन ।

    स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै प्रवेश टिकटको डिजिटलाइजेसन गरिएको छ । साथै अनलाइनमार्फत टिकट काट्न सकिने व्यवस्था गरिएको छ ।

    अवलोकन गर्न विदेशीका लागि ७ सय ५० रुपैयाँ, सार्क राष्ट्रका पाहुनाका लागि ५ सय रुपैयाँ, नेपालीलाई १ सय ५० रुपैयाँ टिकट दर निर्धारण गरिएको छ । नेपाली विद्यार्थी तथा ज्येष्ठ नागरिकले ९० रुपैयाँमै चिडियाखानामा प्रवेश गर्न पाउने छन् ।

    हाल चिडियाखानामा ११० प्रजातिका एक हजार ६८ वन्यजन्तु छन् । तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शमशेरले विक्रम संवत् १९८९ मा निजीरुपमा स्थापना गरेको सदर चिडियाखाना २०११ सालदेखिमात्र सर्वसाधारणलाई खुला गरिएको थियो । चिडियाखाना २०५२ सालदेखि राष्ट्रिय प्रकृति संरक्षण कोषले व्यवस्थापन गर्दैै आएको छ ।

    अवलोकनकर्ताबाट प्राप्त शुल्कबाट कर्मचारी व्यवस्थापन र जनावरलाई खानपानको व्यवस्थापन मिलाउने गरिएको छ । तर विगत आठ महिना बढी समयदेखि चिडियाखाना बन्द हुँदा खर्च व्यवस्थापन गर्न समस्या भएको व्यवस्थापन पक्षले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij