प्रकाशित मिति : शुक्रबार, पुस ३, २०७७
भूकम्पको धक्काले सिर्जना गरेको मनोवैज्ञानिक त्रास हट्न थालेसँगै करीव एक दर्जन अपार्टमेन्ट निर्माण सुरु भएका छन् । गगनचुम्बी भवनको बसोबासप्रति धेरैको आकर्षण बढ्न थालेपछि डेभलपर कम्पनी नयाँ परियोजना ल्याउन कस्सिएका हुन् ।
भूकम्पलगत्तै मानिसले भुइँतलाको बसाइलाई सुरक्षित ठान्न थालेका थिए । त्यसयता अपार्टमेन्ट बिक्री ठप्प भएको थियो । तर, पछिल्ला वर्षमा उपभोक्ताले पुनः उचाइको बसाइ रोज्न थालेपछि अपार्टमेन्टको बजार लयमा फर्किन थालेको हो ।
नेपाल जग्गा तथा आवास विकास संघका अध्यक्ष मीनमान श्रेष्ठका अनुसार भूकम्पअघि करिब ४ हजार ७ सय युनिट अपार्टमेन्ट बिक्री गर्न बाँकी रहेकोमा अहिले स्टक सकिन थालिसकेको छ । ‘अहिले उपभोक्ताले अपार्टमेन्ट खोज्न थालेका छन्,’ उनी भन्छन्, ‘तर, हामीसँग बिक्रीका लागि अपार्टमेन्ट बाँकी छैनन् ।’

२०७२ को भूकम्पपछि आवास विकास कम्पनी अपार्टमेन्ट निर्माण छोडेर एकल बंग्लो निर्माणमा केन्द्रित भए । त्यसैले पनि अपार्टमेन्टको स्टक सकिन थालेको हो ।
भूकम्पपछि उपत्यकाभित्र सीई ग्रुपले एउटा मात्र परियोजना ल्याएको थियो । सीईले राष्ट्रपति भवन अगाडि महाराजगञ्जमा निर्माण गरिरहेको अपार्टमेन्ट अहिले पूरा हुने क्रममा छ । समूहका अध्यक्ष विजय राजभण्डारी उक्त परियोजनाका सम्पूर्ण ५० एकाइ नै पहिल्यै बिक्री भइसकेका छन् ।
सीईले थापाथलीमा पनि ‘थापाथली हाइट्स’ अपार्टमेन्ट निर्माणको तयारी थालेको छ । कोभिड–१९ महामारीले पछाडि धकेलिदिएको यस परियोजनामा ३५ देखि ४० एकाइ अपार्टमेन्ट उपलब्ध हुने राजभण्डारीको भनाइ छ । ‘यो परियोजना पनि निर्माण सुरु नहुँदै सबै एकाई बिक्री भइसकेका छन्,’ राजभण्डारी भन्छन् ।
अपार्टमेन्टको पायोनियर गुण समूहले काठमाडौँको लाजिम्पाटमा कमर्सियल र सुकेधारामा रेसिडेन्सियल अपार्टमेन्ट निर्माण गर्दै छ । बजारमा अपार्टमेन्टको स्टक सकिएको बेलामा गुण कोलोनी झन्डै एक दशकपछि पुनः अपार्टमेन्ट बजारमा ‘एग्रेसिभ’ बनेको छ । सुकेधारामा सुपर बिल्डरले निर्माण गरेर बिक्री गर्न नसकेको सनसाइन अपार्टमेन्ट तीन वर्षअघि यो समूहले किनेको थियो । दुई र तीन बेडरुमका ८८ युनिट अपार्टमेन्ट बिक्रीका लागि तयारी हुन लागेको समूहका अध्यक्ष राजेन्द्र शाक्य बताउँछन् ।
गुण कोलोनीले लाजिम्पाटको मुख्य सडकमै रहेको अपार्टमेन्टमा ४० युनिट अपार्टमेन्ट बिक्रीका लागि खुला गर्दै छ । झन्डै दशकअघि गुण कोलोनीले निर्माण गरेका दुई वटा कमसर्सियल अपार्टमेन्ट टावर आर्थिक संकटका कारण बिक्री गरेको थियो । नेकपा सांसद किसान श्रेष्ठ हुँदै प्रभु समूहको स्वामित्वमा आइपुगेको परियोजना हालै गुणले आफ्नो स्वामित्वमा ल्याएको हो । ¥याडिसन होटलसँगै रहेका यी दुई वटा १० तले टावरमा ४० युनिट रहेका छन् ।
पोखरामा कम्फर्ट गुडविल डेभलपर्सले अपार्टमेन्ट निर्माण गरिरहेको छ । पोखरा रेसिडेन्सी नाम दिइएको अपार्टमेन्ट महेन्द्रपुलनजिकै तेर्सापट्टिमा अवस्थित छ । १० तले भव्य अपार्टमेन्ट छ रोपनी क्षेत्रफलमा फैलिएको छ । यो परियोजनाको थालनी करिब अढाई वर्षअघि भएको थियो । अपार्टमेन्ट परियोजनामा १ अर्ब ५० करोड रुपैयाँ हाराहारी लगानी हुँदै छ ।
पोखरा रेसिडेन्सी अपार्टमेन्टमा १ सय ७ एकाई रहनेछन् । निर्माणाधीन अपार्टमेन्टका लगभग पूरै एकाई बुकिङ भइसकेको कम्पनीका निर्देशक गुडाखर सापकोटा बताउँछन् । यो अपार्टमेन्टमा दुई, तीन र चार बेडरुमका अपार्टमेन्ट छन् । अपार्टमेन्टमा बस्नका लागि १ करोड ३० लाखदेखि २ करोड ३६ लाख रुपैयाँसम्म खर्चिनुपर्छ ।
अपार्टमेन्ट फुल्ली फर्निसिङ, स्विमिङ पुल, जिम हल, योगा हल, सभा हल, ज्याकुजी, साउना, पार्किङ, तातो–चिसो पानी, चार वटा लिफ्ट, फायर फाइटिङलगायत सुविधायुक्त हुनेछ । अपार्टमेन्टमा १० जनाको संयुक्तलगानी छ ।
ललितपुरको कुपण्डोल हाइटमा अवस्थित समिट होटलमा सुपर लक्जरियस अपार्टमेन्ट निर्माण हुने भएको छ । समिटका सञ्चालक चौधरी ग्रुप, एनई ग्रुप र समिट ग्रुपले कोभिड–१९पछि लक्जरी सर्भिस अपार्टमेन्ट र रेसिडेन्सियल अपार्टमेन्ट निर्माण गर्ने निर्णयमा पुगेका हुन् ।
कुपण्डोलमा लक्जरी होटलसहित सम्भ्रान्त वर्गलाई लक्ष्य गरी ‘एलिट क्लास’ अपार्टमेन्ट निर्माण गर्न थालिएको हो । होटल र सर्भिस अपार्टमेन्टको व्यवस्थापनमा विदेशी चेनसँग साझेदारी गर्ने योजना छ । यो अपार्टमेन्ट अहिलेसम्मकै सुविधासम्पन्न हुने सञ्चालकहरूको दाबी छ । ‘हाई–प्रोफाइल एलिट वर्गलाई टार्गेट गरेर सुपर लक्जरियस अपार्टमेन्ट निर्माण गर्न लागेका हौँ,’ सञ्चालकमध्ये एक भन्छन् ।
समिट होटललाई डेढ अर्ब रुपैयाँ हाराहारी लगानी गरेर विश्वस्तरीय बुटिक होटलमा स्तरोन्नति गर्ने घोषणा गरेका सञ्चालकहरू आफ्नो उद्देश्य परिवर्तन गर्दै लक्जरी अपार्टमेन्ट निर्माणमा कस्सिएका हुन् ।
निर्माण क्षेत्रमा ख्याति प्राप्त कालिका कन्स्ट्रक्सन कम्पनी पनि काठमाडौँमा प्रिमियम क्लासको अपार्टमेन्ट निर्माणको तयारीमा जुटेको छ । ‘हामीले अपार्टमेन्ट निर्माण गर्न थालेका छौँ, अहिले डिजाइनको काम भइरहेको छ,’ कम्पनीका प्रबन्ध निर्देशक निकोलस पाण्डे भन्छन्, ‘ठाउँ, लगानी, सेवासुविधा र अपार्टमेन्ट एकाईका बारेमा पछि जानकारी गराउने छौँ ।’
सीई समूहले भैरहवामा पनि अपार्टमेन्ट निर्माण गर्दै छ । मिनी शहरको अवधारणामा अगाडि बढाएको ‘द हब लुम्बिनी’ परियोजनाभित्र अपार्टमेन्ट निर्माण गर्न लागेको हो । सीईले विभिन्न साझेदारसँग मिलेर पर्यटकीय गन्तव्यका रूपमा बृहत् परियोजना निर्माण गर्न लागेको अध्यक्ष राजभण्डारी बताउँछन् ।
सीईले लुम्बिनी हबभित्र एस होटल समूहसँग मिलेर होटल निर्माण गर्नेछ । यो हबभित्र होटल, अपार्टमेन्ट, सपिङ कम्पलेक्स, सिनेमा हल, रेस्टुरेन्ट, मनोरञ्जन पार्क, रेस्टुराँ, स्विमिङ पुल, हेल्थ क्लबलगायत अत्याधुनिक सेवासुविधा हुनेछन् । यो परियोजनामा ठूलो लगानी हुने राजभण्डारी बताउँछन् ।
डाउनटाउन हाउजिङ कम्पनी पनि ललितपुरको चाकुपाटमा करिब ८० एकाईको अपार्टमेन्ट परियोजना ल्याउने तयारीमा छ । सिभिल ग्रुपले पनि उपत्यकाभित्र र बाहिर ठूलो स्केलमा अपार्टमेन्ट ल्याउने तयारी गरिरहेको छ ।
चौधरी समूह र एनई समूहले कान्तिपथमा अर्को सुपर लक्जरियस सर्भिस अपार्टमेन्ट र रेसिडेन्सियल अपार्टमेन्ट निर्माण गर्ने योजना बनाइरहेका छन् । अपार्टमेन्ट सजिलै बिक्री हुने र लगानी पनि तत्काल फिर्ता हुने भएकाले चौधरी र एनई ग्रुपको ध्यान होटलभन्दा अपार्टमेन्टतिर गएको हो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij