आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

एअरपोर्टमा भेटिएको पेस्तोलको गोली नेपाल प्रहरीकै

  • प्रकाशित मिति : मङ्लबार, पुस २१, २०७७



  • काठमाडौं। सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झापा जान लागेका बद्रिहाङ राईको सुरक्षा जाँच गर्दा पेस्तोलमा प्रयोग हुने गोलीको एक डब्बा फेला पर्यो। विमानस्थलमा गोलीसहित मानिस फेला परेपछि प्रहरीले सो विषयलाई गम्भीर रुपमा लिँदै गोलीसहित फेला परेका झापा मेचिनगरका २० वर्षीय बद्रिहाङ राई र उनकी श्रीमती मुनादेवी राईलाई नियन्त्रणमा लियो।

    श्री एअरलाइन्सको विमानमार्फत झापाको भद्रपुर जान लागेका राईको ज्याकेटमा पेस्तोलमा प्रयोग हुने नाइन एमएमको ५० राउण्ड गोलीको एक डब्बा फेला परेको विमानस्थल सुरक्षा प्रमुख राजेशनाथ बाँस्तोलाले बताए।

    उनले डिसी नेपालसँग भने, ‘पेस्तोलमा प्रयोग हुने गोलीसहित एक दम्पत्तिलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानका लागि नेपाल प्रहरीको गौशाला वृत्तमा पठाएका छौं।’

    प्रहरीका अनुसार सो गोली नेपाल प्रहरीले प्रयोग गर्दै आएको गोली हो। गौशाला वृत्तका सई पदम न्यौपानेका अनुसार विमानस्थलमा फेला परेको गोली नेपाल प्रहरीले प्रयोग गर्दै आएको हो। प्रहरीले प्रयोग गर्दै आएको गोली बद्रिहाङसम्म कसरी पुग्यो भन्ने विषयमा अनुसन्धान केन्द्रित रहेको प्रहरीले जनाएको छ।

    प्रहरीले राई दम्पत्तिलाई थुना राखी अनुसन्धान गर्नका लागि अदालतबाट थुनामा राख्ने अनुमतिका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरेको छ। सई न्यौपानले सात दिन हिरासमा राख्ने अनुमति मागेर अदालतमा पेश गरिएको बताए। उनले अदालतले अनुमति दिएपछि अनुसन्धान शुरु हुने बताए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij