आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सडकलाई वन्यजन्तुमैत्री बनाऊ

  • प्रकाशित मिति : मङ्लबार, पुस २१, २०७७



  • निकुञ्ज–आरक्ष, संरक्षित क्षेत्र वा कुनै जंगल आसपासका सडकमा यात्रा गर्दा बाघलगायतका वन्यजन्तुसित जम्काभेट भइरहनु कुनै आकस्मिक संयोग होइन । यो त वन्यजन्तुको बाटोमा सडक बनाएपछिको स्वाभाविक नतिजा मात्रै हो ।

    आफ्नो जैविक मार्गमा ओहोरदोहोर गर्दा सडक छिचोल्नु ती जनावरहरूको बाध्यता हो । दुःखद पक्ष, यस क्रममा घरीघरी अप्रिय घटना हुने गरेका छन् । कहिले मानिसमाथि वन्यजन्तुबाट आक्रमण हुन्छ, कहिले गाडीले यस्ता जीवहरूलाई ठक्कर दिन्छ ।

    गत शुक्रबार मात्रै बर्दिया राष्ट्रिय निकुञ्जभित्र पर्ने अम्बासा–चिसापानी खण्डमा बाघले एक महिलालाई मोटरसाइकलबाटै तानेर मारेको छ । त्यसको भोलिपल्ट शनिबार पर्सा राष्ट्रिय निकुञ्जको अमलेखगन्ज–पथलैया सडकखण्डमा कारको ठक्करबाट एउटा वयस्क पोथी बाघ मरेको छ । यी विस्मयकारी घटनालाई दोहोरिन नदिन सरकारले सम्बन्धित क्षेत्रका सडकहरूलाई सक्दो चाँडो वन्यजन्तुमैत्री बनाउनुपर्छ ।

    बर्दियामा शुक्रबार छोराको मोटरसाइकलमा पछाडि बसेकी ती महिलालाई गुडिरहेकै बेला बाघले झम्टेर लगेको हो । यसअघि २०५८ मा पनि त्यही क्षेत्रमा एक व्यक्ति यस्तै घटनामा मारिएका थिए । पछिल्लो घटनापछि ८ बजेदेखि बिहान ६ बजेसम्म उक्त खण्डमा दुईपांग्रे सवारी र पैदलयात्रुलाई आउजाउ गर्न रोक लगाइएको छ । सधैं यो शैली व्यावहारिक नहुने भएकाले दिगो समाधान नै खोजिनुपर्छ ।

    निकुञ्ज र संरक्षित क्षेत्रमा वन्यजन्तुलाई बाधा नपुगोस् भनेर सवारी साधनका लागि गतिको सीमा तोकिएको हुन्छ । तर, शुक्रबार बर्दियामा गति कम भएकैले ती महिलालाई बाघले सजिलै लैजान सम्भव भयो भने, शनिबार नियम नमानेर तीव्र गतिमा दगुराइएको कारको ठक्करबाट बाघ मारियो । तसर्थ, धेरै हदसम्म भरपर्दो समाधानका लागि सरकारले वन्यजन्तुमैत्री मार्गमै जोड दिनुपर्छ ।

    आफ्नो बासस्थान क्षेत्रमा घुम्न र आहारा खोज्न निस्किने क्रममा वन्यजन्तुहरू दुर्घटनामा पर्ने गरेका हुन् । बाघको संख्या बढाउन लागिपरेको मुलुकमा चार वर्षयता मात्रै तीनवटा बाघ सडक दुर्घटनामा मरिसकेका छन् । चार वर्षअघि बर्दिया राष्ट्रिय निकुञ्जभित्र पूर्व–पश्चिम राजमार्गको अम्बासा–चिसापानी सडकखण्डमा पनि बसले ठक्कर दिएर एउटा बाघ मारेको थियो । दुई वर्षअघि त्यही क्षेत्रमा जिपले ठक्कर दिएर घाइते बनाएको बाघ पछि उपचारका क्रममा मरेको थियो । एकातिर मुलुकले संरक्षित वन्यजन्तु जोगाउन जोडबल दिइरहेको छ भने, अर्कातिर बर्सेनि ठूलो संख्यामा त्यस्ता जनावरहरू सडक दुर्घटनाकै कारण मारिने गरेका छन् ।

    पूर्व–पश्चिम राजमार्गको २ सय ७१ किलोमिटर सडक पर्सा, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रभित्र पर्छ । हुलाकी राजमार्गअन्तर्गत बाँकेको काम्दी, बर्दियाको खाता, कैलालीको वसन्ता र लालझाडी–मोहना करिडोर निकुञ्जभित्रै पर्छन् । यी सबै सडकखण्डमा गाडीको ठक्करबाट संरक्षित र अन्य वन्यजन्तु मर्ने गरेका छन् ।

    राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार आर्थिक वर्ष २०७५–७६ मा निकुञ्ज र आरक्षण क्षेत्रमा ४ सय ९५ वटा वन्यजन्तु मारिएकामध्ये एक चौथाइ अर्थात् १ सय १९ वटाको कारक त गाडीको ठक्कर नै थियो । २०७४–७५ मा ३ सय ९१ वन्यजन्तु मरेकामा त्यसको झन्डै एकतिहाइ अर्थात् १ सय २४ वटा सडक दुर्घटनामा मारिएका थिए । २०७३–७४ मा ३ सय २६ वन्यजन्तु मरेकामा १ सय ३३ वटा अर्थात् ४१ प्रतिशत गाडीको ठक्करबाट मारिएका थिए ।

    सडक दुर्घटनाबाट हुने गरेको यो क्षति आफैंमा निकै ठूलो हो । त्यसैले, सरकारले यी सडकमा वन्यजन्तुलाई वारपार गर्न सघाउने संरचना निर्माणमा ढिलाइ गर्नु हुँदैन । र, सम्बन्धित क्षेत्रमा नयाँ बन्ने सडकका हकमा पनि यो पक्षलाई ध्यान दिइनुपर्छ । वनजंगल वा संरक्षित क्षेत्रमा सडक नै नबनाउने कुरा व्यावहारिक हुँदैन । तर त्यस्तो क्षेत्रका राजमार्गमा वन्यजन्तुका लागि वैकल्पिक मार्ग बनाइदिएर क्षति न्यूनीकरण गर्न सकिन्छ ।

    त्यसका निम्ति वन्यजन्तुको बढी ओहोरदोहोर हुने राजमार्गमा तिनका लागि ‘अन्डरपास’ र ‘ओभरपास’ बनाउन सकिन्छ । विश्वमा यो शैली–प्रविधि पछ्याउने मुलुकहरू थुप्रै छन् । यस्तो संरचनामा बोटबिरुवा पनि लगाएर जनावरहरूलाई जंगलकै एक भाग भएको भान पार्न सकिन्छ । यसका लागि निकुञ्जले अहिले गरिरहेको तयारीलाई तीव्रता दिनुपर्छ ।

    विकासमा साझेदारी गर्ने निकायलगायतका सरोकारवालाले पनि यसलाई प्रोत्साहन दिनुपर्छ । अन्तर्राष्ट्रिय अभ्यास मात्र होइन, नेपालकै अनुभवले पनि वन्यजन्तुमैत्री संरचना उपयोगी भएको पुष्टि भैसकेको छ । ३३ किलोमिटर लामो नारायणघाट–मुग्लिङ सडकखण्डमा चारवटा अन्डरपास बनाइएका छन् ।

    विभिन्न वन्यजन्तुले ती अन्डरपास भरपूर प्रयोग गरेको अध्ययनले देखाइसकेको छ । अब, यस्तै प्रयोग अन्यत्रका सडकमा पनि गरिनुपर्छ । यस्तो व्यवस्थाले वन्यजन्तुलाई गाडीको आक्रमणबाट त जोगाउन मद्दत पुग्छ नै, राजमार्गमा यात्रारत मानिसका लागि पनि वन्यजन्तुको आक्रमणको सम्भावना कम हुन्छ ।

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij