आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

नेपालीको शव लिन एयरलाइन्स मलेसिया उड्दै, १७ शव ल्याइदैं

  • प्रकाशित मिति : शुक्रबार, माघ ९, २०७७



  • काठमाडौं। नेपालीको शव लिन राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को वाइड बडी ए३३० जहाज मलेसिया उड्ने भएको छ। आज(शुक्रबार) राति ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मलेसियाको क्वालालम्पुर उड्न लागेको उक्त जहाजले एक पटकमा मलेसियाबाट १७ वटा नेपाली कामदारको शव नेपाल ल्याउन लागेको हो।

    क्वालालम्पुरबाट शव लिएर वाइडबडी जहाज शनिबार बिहान ८ः४० बजे काठमाडौं अवतरण गर्नेछ। सामाजिक उत्तरदायित्वअन्तर्गत निगमले नेपालीको शव ल्याउन लागेको हो। वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा काम गर्न गएका नेपाली विभिन्न कारणले मृत्यु भएर त्यहाँ अलपत्र अवस्थामा थिए।

    मृतकका परिवारको पीडालाई बुझेर निगमले नाफाभन्दा पनि सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा शव ल्याउन लागेको निगमका प्रवक्ता करिश्मा श्रेष्ठले बताइन्। उनले ‘निगम राष्ट्रिय ध्वजाबाहक भएको नाताले मुनाफा वा फाइदा मात्रै हेर्न मिल्दैन, हामी नागरिकको सेवा सुविधा एवं सामाजिक उत्तरदायित्व बहन गर्न पनि उत्तिकै जिम्मेवार र प्रतिबद्ध हुनुपर्छ र छौँ।’

    निगमले क्वालालम्पुर गन्तव्यमा न्यारोबडी जहाजले नियमित उडान गर्दै आएको छ। नेपाली कामदारको शव लिनकै लागि निगमले वाइडबडी जहाज प्रयोग गर्न लागेको हो। वाइडबडी जहाजमा १८ वटा शव बोक्ने क्षमता हुन्छ।

    निगमले दुई वर्षअघि अफगानिस्तानबाट पनि नेपालीको शव ल्याएको थियो। निगमले कोभिड–१९ महामारीको सङ्क्रमणमा अन्तर्राष्ट्रिय उडान प्रतिबन्ध गरिएको अवस्थामा पनि उद्धार उडान तथा कोभिडका औषधिजन्य सामग्री ल्याउन महत्वपूर्ण भूमिका खेलेको थियो।

    निगमले दुई थान न्यारोबडी जहाज ए३२० र दुई थान वाइडबडी ए३३० जहाजमार्फत भारतका तीनसहित सात देशका नौ गन्तव्यमा अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij