आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

नेपालकै दुर्लभ घटना, चौथोपटक शल्यक्रियाबाट जन्मियो बच्चा

  • प्रकाशित मिति : मङ्लबार, माघ २७, २०७७



  • काठमाडौं । निकै जटिल मानिने चौथौ सिजरिङबाट नर्भिक अस्पतालमा बैतडीकी एक महिलाले स्वस्थ बच्चा जन्माएकी छन् । बरिष्ठ प्रशुति तथा स्त्री रोग विशेषज्ञ एवम् ल्याप्रस्कोपिक सर्जन डा. नुतन शर्माले शुक्रबार नर्भिक अस्पतालमा बैतडीकी ३७ वर्षिय निरा बोहोराको चौथौ शल्यक्रियामार्फत प्रसूति गराएकी हुन् ।

    पहिलो र दोश्रो पटक प्रसुती गृहमा सिजरिङबाट जन्मिएका बच्चाहरू खेर गएका थिए । बोहराको तेस्रो पटक पनि सिजरिङबाट बच्चा जन्मिएको थियो । तेश्रो पटक बच्चा जन्माउँदा पनि डा. शर्माले नै बोहोराको शल्यक्रिया गरेकी थिइन् ।

    सामान्यतः एकपटक शल्यक्रियामार्फत प्रशुति भएमा आमा र बच्चाको स्वास्थ्यमा जोखिम हुने भएकाले अर्को पटक पनि सिजरिङबाट नै प्रशुति गराउनु सुरक्षित मानिने चिकित्सकको भनाई छ ।

    ‘मलाई चौथो पटक पनि सिजरिङबाट बच्चा जन्माउन सकिन्छ भन्ने थाहा थिएन । तर अहिले म साह्रै खुशी छु । दुई पटकसम्मको खेर गएको थियो ।’ उनले भनिन्, ’तेस्रो पटक बच्चा भएपछि मलाई हुँदैन भन्ने लागेको थियो । डा. नुतनको मिहिनेतले मैले दुई सन्तान पाए । उहाँ मेरा लागि भगवान जस्तै हुनुभएको छ ।’ चौथो पटक सिजरिङ गरेर बच्चा जन्मिनु नेपालको स्वास्थ्य विज्ञानको क्षेत्रमा दुर्लभ घटना रहेको डा. नुतन शर्माको भनाइ छ ।

    ‘सामान्यतः नर्मल डेलिभरीबाट बच्चा जन्मिनु आमाको स्वास्थ्यका लागि राम्रो हो तर गर्भावस्थामा बच्चाको स्वास्थ्य अवस्था, आमाको स्वास्थ्यमा देखिएको जोखिम जस्ता कुराको आँकलन गरेर बाध्यात्मक अवस्थामा हामीले शल्यक्रियाबाट प्रशुति गराउदँछौ ।’ डा. शर्माले भनिन्–‘तर तेस्रो पटक शल्यक्रिया भएका महिलाले बच्चा पाउन सक्दैनन् भन्ने मान्यतालाई गलत सावित गर्दै हामीले सम्भव बनाएका छौ ।’

    डा. शर्माका अनुसार दुईवटा बच्चा खेर गएपछि तीन वर्षअघि उनी बच्चा जन्माउने योजना लिएर नर्भिकमा आएकी थिइन् । उनको तेश्रो बच्चा सफलतापूर्वक जन्मियो । ‘उहाँलाई चौथो पनि जन्माउने रहर एवं पारिवारिक बाध्यता थियो ।’डा. शर्माले भनिन्,’सामान्यतया तीन पटकसम्म सिजरिङ हुन्छ । तर कतिपय अवस्थामा यो भन्दा पनि बढि हुनसक्छ भन्ने प्रमाणित भएको छ ।’ अहिले आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको डा. शर्माले बताइन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij