प्रकाशित मिति : बुधबार, माघ २८, २०७७
काठमाडौं । सुन आपूर्तिमा लगाइराखिएको कोटा बढाउन व्यवसायीले संस्थागत ‘लबिङ’ थालेका छन् । हाल सरकारले उपलब्ध गराउँदै आएको सुनले बजारको माग धान्न नसकेको भन्दै उनीहरुले आयात बढाउन माग गरेका हुन् ।
हाल वाणिज्य बैंकमार्फत दैनिक १० किलो सुन आयात हुँदै आएको छ। यस परिमाणले बजारको मागअनुसार पूर्ति नभएको भन्दै यसलाई बढाउनका लागि व्यवसायीले सुनचाँदी तथा गरगहना क्षेत्रका विभिन्न संघमार्फत लबिङ गरेका हुन् ।
अत्यधिक सुन आयातका कारण देशको व्यापारघाटा उच्च भएपछि सरकारले २०६७ सालदेखि सुन आयातमा नियन्त्रण गर्न थालेको हो ।
नेपाल राष्ट्र बैंकले सुन आयात तथा विक्रि वितरणसम्बन्धि कार्यविधि जारी गर्दै वाणिज्य बैंकले मात्र सुन आयात गर्न पाउने गरी दैनिक कोटा समेत निर्धारण गरेको छ । कार्यविधिअनुसार तोकिएको आयातसम्बन्धी कोटा भने विभिन्न समयमा परिवर्तन हुँदै आएको छ ।
राष्ट्र बैंकले कोरोना अघिसम्म दैनिक २० किलो सुन आयात गर्न सकिने गरी कोटा निर्धारण गरेको थियो ।
यसैगरी चाडपर्वको सिजनमा दैनिक २५ किलो सुन आयात गर्न सकिने व्यवस्था गदै आएको थियो। कोभिड १९ महामारी सुरु भएसँगै सरकारले विदेशी मुद्राको खर्चमा मितव्ययी हुनका लागि दैनिक १० केजी मात्र सुन आयात गर्न पाउने व्यवस्था गरेको छ ।
सुन आयात बढाउनका लागि महासंघका पदाधिकारीले सोमबार नेपाल राष्ट्र बैंकको विदेशी विनिमय विभागका कार्यकारी निर्देशक बम बहादुर मिश्रसँग भेटघाट गरेका थिए ।
यसअघि उनीह्रुले नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छासँग समेत भेटेर सुन आयात कोटा बढाउन माग गरेका थिए ।
सोमबार राष्ट्र बैंकसँग भएको भेटमा सुन आयात र बिक्रि वितरण प्रभावकारी बनाउनेबारे छलफल भएको महासंघका अध्यक्ष माणिकरत्न शाक्यले जानकारी दिए ।
राष्ट्र बैंकले सुन आयात र वितरणको विषयमा कार्यविधिमार्फत नै जारी गरेको सर्कुलरअनुसार काम भए नभएको अनुगमन गरी त्यसलाई व्यवस्थित गर्ने प्रतिवद्धता पाएका छौं ।
कारोबार
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij