प्रकाशित मिति : बिहिबार, माघ २९, २०७७
काठमाडौं। प्रतिनिधिसभा विघटन भएसँगै राजधानीमा दैनिकजसो विरोधका कार्यक्रम हुने गरेका छन्। ती विरोधका कार्यक्रममा अधिकांश मानिस राजधानी बाहिरबाट ल्याइने गरिएको छ।
विरोधका कार्यक्रममा सहभागी हुन काठमाडौं आएका सार्वसाधारण पशुपतिनाथको दर्शन गर्न जाँदा पछिल्ला केही दिनमा पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको संख्या ह्वात्तै बढेको छ।
पशुपति क्षेत्र विकास कोषका निर्देशक डा.घनश्याम खतिवडाले विषेश गरी बन्द, हडताल र आन्दोलनको समयमा धेरै मात्रामा दर्शनार्थीहरु आउने गरेको बताए।
कोरोना माहामारीका कारण लामो समय बन्द रहेको पशुपतिनाथ मन्दिर गत पुस महिनादेखि खुलेको हो। मन्दिर खुलेसँगै भक्तजनहरुको मन्दिर आउने क्रम क्रमशःबद्दै गएको छ। विषशगरी शनिबार र बिदाका दिनमा धेरै मात्रमा भक्तजनहरुको घुईंचो लाग्ने गरेको पशुपतिमा कोरोनाभन्दा अघिको तुलनामा भने दर्शनार्थीको आगमन कमै रहेको डा खतिवडाले बताए।
उनले भने, ‘अहिले पनि दिनमा ४० हजारदेखि ५० हजारसम्म भक्तजनहरु आउँछन्। मन्दिर गत पुस १ गतेबाट खुलेसँगै भक्तजनहरु आउने क्रम दिनमा आठदेखि १० हजारसम्म रहेको थियो तर शनिबारका दिन ६० हजारदेखि ६५ हजारसम्म आउन थालेका छन्।’
उनले अहिले पशुपतिनाथ मन्दिर दर्शन गर्न आउनेको संख्या कम्प्युटर प्रणालीबाट राख्ने गरेको समेत जानकारी गराए। जसबाट दिनमा कतिजना भक्तजनहरु मन्दिर दर्शन गर्न आए भन्ने बारे जानकारी राख्न सजिलो भएको छ।
त्यस्तै, निर्देशक डा खतिवडाले कोरोनापछि दानपात्रमा धेरै मात्रामा दान जम्मा हुन थोलेको बताएका छन्। उनले भने, ‘पुस महिनामा मात्रै २० लाख दानपत्रमा जम्मा भएको थियो। माघको २५ गते ५६ हजार एक सय ४०, २६ गते ९० हजार ६ सय ५६ र २७ गते एक लाख ८० हजार सात सय २५ रुपैयाँ दान पत्रबाट उठेको छ।’
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij