प्रकाशित मिति : आइतवार, फाल्गुन २, २०७७
बाराको सिम्रौनगढ नगरपालिकाका नगर प्रमुख विजयशंकर यादवले नगरपालिकाकै प्रमुख प्रशासकीय अधिकृतसहित ३ जना कर्मचारीसँग मिलेर माइन्युटमा कीर्ते हस्ताक्षर गरेको सम्बन्धमा कारवाही प्रक्रिया अघि बढेको छ ।
सिम्रौनगढ नगरपालिकाको गत असार २६ गते भएको नगरसभाको माइन्युटमा कीर्ते हस्ताक्षर गराएर नगरप्रमुख यादवलाई सघाएको आरोपमा प्रहरीले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिओम प्रसाद जयसवाल, योजना शाखाका कर्मचारी जितेन्द्र यादव र लेखा अधिकृत सर्वेन्द्र चौधरीलाई नियन्त्रणमा लिई कारवाही प्रक्रिया अघि बढाएको बाराका प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।
माइन्युटमा कीर्ते हस्ताक्षर गरेको आरोपमा प्रहरीले नगरपालिकाको योजना शाखाका कर्मचारी जितेन्द्र यादव र लेखा अधिकृत सर्वेन्द्र चौधरीलाई ३ दिन अघि नै नियन्त्रणमा लिएको थियो भने प्रमुख प्रशासकीय अधिकृत हरिओम प्रसाद जयसवाल आइतबार अदालतमा उपस्थित भएका छन् ।
नगरप्रमुख यादव किर्ते हस्ताक्षर गराई नगरसभा सम्पन्न गरेपछि उपप्रमुख रिमा देवीको नेतृत्वमा नगर कार्यपालिकाका १७ जना सदस्यहरुले बारा जिल्ला अदालतमा मुद्दा दिएका थिए । मुद्दा परेपछि नगरप्रमुख यादव हाजिर भएर तारिखमा छुटेको उपप्रमुख यादवले जानकारी दिइन् ।
उनले भनिन्, ‘नगरप्रमुख विजय शंकर यादवले नगरसभामा मनोमानी गरेपछि हामीले विरोध गरेका हौं, कर्मचारीहरुसँग मिलेर कीर्ते हस्ताक्षर गराई नगरसभा सम्पन्न गरेकोमा हाम्रो विरोध हो ।’
प्रहरी नायव उपरीक्षक गौतम मिश्रका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij