प्रकाशित मिति : शनिबार, फाल्गुन १५, २०७७
सर्वोच्च अदालतले रोक्न भनेर अन्तरिम आदेश दिएकै दिन बुधबार पशुपतिनाथ मन्दिरमा ९६ किलो सुनको जलहरी राखियो। यसमा १२ किलो सुन थप्न बाँकी छ, जुन विस्तारै राखिने पशुपतिका मुख्य पूजारीमध्ये एकले जानकारी दिए।
त्यसअघि फागुन १२ गते राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिमा क्षमापूजा गरी १०८ किलो जलहरी राख्न साइत गरेकी थिइन्।
पुरातात्विक सम्पदामा कुनै पनि चिज चलाउन वा थपघट गर्न नपाइने कानुन छ। यसैमा टेकेर अदालतले दिएको अन्तरिम आदेशसमेत उल्लंघन गर्दै पशुपतिनाथमा सुनको जलहरी राखिएको भन्दै विरोध भइरहेको छ।
मन्दिरका चार जना मुख्य पूजारीले मात्र छोएर राख्न मिल्ने जलहरी सर्वसाधारणले सजिलै देख्दैनन्। जुन ठाउँमा उभिएर सर्वसाधारणले पशुपति दर्शन गर्छन्, त्यहाँबाट जलहरी देखिँदैन।
भक्तजनको भीडभाडबीच कतिले त शिवलिंगको राम्ररी दर्शन गर्न पनि पाएका हुँदैनन्, यस्तोमा जलहरी देख्नु टाढाको कुरा। कसैले घाँटी तन्काएर हेर्यो भने मात्र मुश्किलले जलहरी देखिन्छ।
पछिल्लो केही दिनदेखि अत्यन्त चर्चामा रहेको यो जलहरी के हो? कस्तो हुन्छ? कहाँ राखिन्छ? धेरैलाई यसमा कौतूहल छ।
पशुपतिको चारै ढोका चाँदीका छन्। चाँदीका पातामा विभिन्न देवदेवीका कलाकृति कुँदिएका छन्। जलहरी भनेको पनि यस्तै कुनै कलात्मक पातो वा छानो हो कि भन्ने धेरैलाई भ्रम छ। कतिले जलहरी मन्दिरको भित्री छानामा राखिन्छ पनि भन्छन्। कतिले शिवलिंगभन्दा माथि छाता जसरी ओढाइन्छ भन्ठानेका छन्।

यस्तै दुबिधा र भ्रमबीच हामी केही पत्रकारले मन्दिरको चारै ढोकाबाट भर्खरै राखिएको जलहरी हेर्ने मौका पायौं।
यो न मन्दिरको भित्री छानामा राखिन्छ, न शिवलिंगमाथि छाताजसरी ओढाइन्छ। खासमा यो शिवलिंगको तल्लो भाग बेरेर झकिझकाउ पार्ने कलात्मक गहना हो।
जलधाराबाट खसेको पानी वा दूध शिवलिंगमा परेको त तपाईंहरूले देख्नुभएकै होला। शिवलिंगलाई नुहाएपछि त्यही जल वा दूध बगेर जुन तल्लो भागमा जम्मा हुन्छ, जसलाई शिवलिंगको गर्भगृह भनिन्छ। जलहरी भनेको त्यही गर्भगृहलाई पूर्ण रूपमा ढाक्ने गरी राखिने पाता हो।

जलहरीबाट बगेको तरल पदार्थ बह्मनाल हुँदै बाग्मतीमा गएर मिसिन्छ। भक्तजनलाई अभिषेक गरिने जल जलहरीबाटै लिइने पूजारीहरू बताउँछन्।
पशुपति शिवलिंगको तल्लो भागमा बासुकी नाग छ। नागमाथि करिब पाँच इन्च उचाइमा शिवलिंगको गर्भगृह छ। पाँच मिटर गोलाइ रहेको यो गर्भगृहलाई सुनको पातोले मोरिएको छ।
पूजारीहरूका अनुसार शिवलिंगमा निरन्तर चढाइने दूध, जल, मह पोखिँदै जाने ठाउँमा राखिने तामा, चाँदी वा सुनको पातो नै जलहरी हो। यसअघि यहाँ चाँदीको जलहरी रहेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदीप ढकालले जानकारी दिए।
‘यहाँ दुई तह तामा र दुई तह चाँदीको जलहरी थियो। अहिले त्यसैको माथिल्लो तहमा सुनको जलहरी राखिएको हो,’ उनले भने।
चाँदीको जलहरी जीर्ण भएकाले सुनको जलहरी राखिएको उनले बताए। यसले शिवलिंगको गर्भगृहलाई चम्किलो पारेको छ।
‘भोलि देशलाई आर्थिक आपत परेका खण्डमा यो सुनको जलहरी प्रयोग गर्न मिल्छ,’ उनले भने, ‘यसनिम्ति क्षमापूजा भने गर्नुपर्छ।’
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij