प्रकाशित मिति : सोमवार, चैत्र १६, २०७७
काठमाडौं । केहीदिन यता काठमाडौं उपत्यकाको अधिकतम तापक्रममा कमी आएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार पाँच दिन अघि काठमाडौं उपत्यकाको अधिकतम तापक्रम २८ देखि ३० डिग्री सेल्सियस पुगेकोमा अहिले घटेर अहिले घटेर २५ देखि २७ डिग्री सेल्सियसको हाराहारीमा सीमित छ ।
महाशाखाका मौसमविद् वरुण पौडेल काठमाडौं उपत्यकाको वायुमण्डलको तल्लो भागमा तुवाँलो, त्योभन्दा माथि बादल र केही धुलोका कणसमेत रहेका कारण घाम राम्ररी लाग्न नसक्दा तापक्रम घटेको बताउँछन् । उनका अनुसार तराई तथा हिमाली क्षेत्रमा खासै समस्या नदेखिए पनि काठमाडौं उपत्यका लगायतका क्षेत्रमा भने वायुमण्डल धुम्मिएका कारण तापक्रम घटेको हो । ‘मुख्यतया वायुमण्डलको तल्लो तहमा धुवाँ छ, त्योभन्दा माथि बादल र भारतबाट आएका केही धुलोका कण छन्,’ उनले भने, ‘त्यसले गर्दा घामलाई छेकिएको छ । घाम छेकिएपछि स्वाभाविक रुपमा तापक्रम घटेको हो ।’
मंगलबारबाट यो अवस्थामा केही सुधार आउने भए पनि पूर्ण रुपमा सुधार आउन समय लाग्नेछ । ‘यो अवस्थामा पूर्ण सुधार आउन कि त ठूलै हुरी चल्नुपर्छ, कि त ठूलै पानी पर्नुपर्छ,’ उनले भने, ‘उपत्यकामाथिको वायुमण्डल एकप्रकारले जाम भएको छ, त्यसलाई हुरीले हटाएमा वा ठूलै वर्षा भएर बादल तथा धुलोका कणलाई हटाएमा मात्र पूर्ण रुपमा सुधार हुने देखिन्छ ।’
उनका अनुसार अहिलेसम्म ‘प्रि–मनसुन’ सक्रिय भएको छैन । अहिले वायुमण्डलमा देखिएको समस्या प्रि–मनसुन सक्रिय भएपछि मात्र पूर्ण रुपमा हट्ने उनको भनाइ छ । यसका लागि चैत अन्तिम वा वैशाख नै लाग्नसक्ने समेत उनले बताए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij