प्रकाशित मिति : सोमवार, बैशाख २०, २०७८
सरकारले कोरोना संक्रमितको उपचारका लागि एक हजार बेड क्षमताको अस्थायी अस्पताल बनाउन नेपाली सेनालाई निर्देशन दिएको छ।
सोमबार देशबासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश र राजधानीमा गरी एक हजार बेडको अस्थायी अस्पताल बनाउन सेनालाई निर्देशन दिइएको जानकारी गराएका हुन्।
प्रधानमन्त्री ओलीले वीर अस्पतालको नयाँ भवन र नेपाली सेनाको त्रि-चन्द्र मिलिटरी अस्पताल, उपत्यकाका धेरै शय्या भएका मेडिकल कलेज, ठूला सरकारी तथा निजी अस्पताललाई कोभिड अस्पतालको रूपमा सञ्चालन गरिने पनि जनाए।
साथै, प्रदेश सरकारले प्रदेशमा रहेका मेडिकल कलेज तथा ठूला अस्पताललाई कोभिड अस्पतालको रूपमा सञ्चालन गर्ने र साना अस्पतालहरूलाई ननकोभिड अस्पतालको रूपमा सञ्चालन गर्ने भनिएको छ।
ओलीले सबै प्रकारका सार्वजनिक एवं सामुदायिक स्थल, रंगशाला, सभाहल, पार्टी प्यालेस, होटल, कारखाना, कोदामघर लगायत संरचनाहरू प्रयोग गरी सुविधायुक्त क्वारेन्टिन, आइसोलेसन केन्द्र र आवश्यक होल्डिङ सेन्टरको प्रबन्ध गर्न लगाइएको बताए।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij