आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

बजार नपाएको भन्दै किसानले उखेलेर फाले काउली

  • प्रकाशित मिति : आइतवार, बैशाख २६, २०७८



  • काठमाडौं । निषेधाज्ञाका कारण बारीमा भएको उत्पादनले बजार नपाएको भन्दै मकवानपुरका किसानले सयौं किलो काउली उखेलेर फालेका छन् । काठमाडौंको बजारलाई लक्षित गरेर फलाइएको काउली नबिकेपछि उखेलेर अर्को बाली लगाइएको मकवानपुर थाहा नगरपालिकाका किसानले बताए ।

    साढे दुई रोपनी खेतमा लगाइएको काउली नबिकेपछि उखेलेर फालिएको थाहा नगरपालिका ६ बज्रबाराहीकी किसान निर्मला बिडारीले अनलाइनखबरलाई बताइन् । काउली उखेलेर फालिएको र खेतमा अकबरे खुर्सानी लगाइएको बिडारीले बताइन् ।

    ‘साढे तीन रोपनीमा काउली लगाएको थिएँ, एक रोपनीको काउली मात्रै बेच्न सकेँ, बाँकी उखेलेर फ्याल्नु पर्याे’ बिडारीले फोनमा गुनासो सुनाइन् । निषेधाज्ञा शुरु हुने अघिल्लो दिनसम्म प्रतिकिलो ५० रुपैयाँमा बिक्री गरेको काउली त्यसयता व्यापारीले किन्नै नचाहेको उनको भनाइ छ ।

    ‘एक रोपनीमा दुई टन काउली फल्छ, काउली छिप्पिंदै जाँदा पनि नबिकेपछि मेरो मात्रै पाँच टन जति काउली उखेलेर फ्याल्नु पर्याे’ बिडारीले भनिन् ।

    जतिमा बिक्छ लैजाऊ भन्दा पनि व्यापारीले नकिनेपछि काउली उखेलेर खेतको डिलमा थन्क्याइएको सोही ठाउँका अर्का किसान शंकर रुम्बाले बताए ।

    मकवानपुरको काउलीले मुख्य बजार पाउने समयमै किसान निषेधाज्ञाको मारमा परेको रुम्बाको दुखेसो छ । ‘निषेधाज्ञा अघि किलोमा ५० रुपैयाँ भाउ किसानले यहीँ पाएका थिए, निषेधाज्ञा सुरु भएपछि किलोको ३० रुपैयाँमा झर्यो, त्यसपछि काउली उठाउन व्यापारी आएनन्’, रुम्बाले भने ।

    नियमित तरकारी लैजाने व्यापारीहरूले कालीमाटीमा बिक्नै छोडेकाले तरकारी किन्न नसकिने जवाफ दिएपछि काउली उखेल्न बाध्य भएको उनले सुनाए ।

    मकवानपुर बज्रबाराहीका मात्रै झण्डै एक दर्जन किसानले खेतमा लगाएको काउली उखेलेर फ्याँकेको स्थानीय तरकारी संकलक व्यापारी राजेन्द्र बिडारी बताउँछन् । तरकारी बजार लैजान कुनै कठिनाइ नभए पनि मुख्य बजारमा तरकारी बिक्नै नसकेको उनले बताए ।

    यसअघिको लकडाउनमा किसानको तरकारी बजारसम्म आउनै समस्या हुँदा बिग्रिएको चक्र यसपटक भने उपभोक्ताले खपत नगरिदिंदा प्रभावित भएको कालीमाटीका व्यवसायीहरुले बताएका छन्
    ‘स्थानीयसँग तरकारी किन्ने कालीमाटी र बल्खुका व्यापारीहरूले यहाँ फाल्नुभन्दा उतै मल हुन्छ त्यहीँ फाल्नुस् भन्छन्, यस्तो अवस्थामा तरकारी बजार पठाउनै सकिएन’ बिडारीले भने, ‘सामान्य अवस्थामा यहाँको काउली बजार पठाइसकेर अर्को बाली लगाउन खेत खाली हुन्थ्यो तर यसपालि खेतमै तरकारी रह्यो । अर्को बाली लगाउन ढिलो भएपछि किसानले तरकारी फाल्नुको विकल्प देखेनन् ।’

    सोही ठाउँका किसान वेदराज सुवेदी र रामबहादुर सुवेदीले पनि काउली नबिकेपछि उखेलेर खेतको आलीमा चाङ लगाएको बताए । यो सिजनको अन्तिम बालीको रुपमा मुला, काउली र मटरकोसा उत्पादन भएकोमा काउली र मुला निषेधाज्ञाको मारमा परेको उनीहरूको भनाइ छ ।

    तत्काल नबिग्रिने भएका कारण मुला न्युन मूल्यमा बिक्री भइरहेको रामबहादुर सुवेदीले बताए । निषेधाज्ञा अघि ४० रुपैयाँ किलोमा बिक्ने मुला अहिले ७ रुपैयाँ किलोमा झरेको तर काउली नबिकेको उनको भनाइ छ ।

    निषेधाज्ञा र असिनाको मारमा यस क्षेत्रका किसान परेको बज्रबाराहीका वडाध्यक्ष शशिधर सुवेदीले बताए । बेमौसमी तरकारीको हबको रुपमा रहेको बज्रबाराहीका किसान यसपालि धेरै नै मर्कामा परेको उनले बताए । ‘काउली त कुरै नगरौं सखापै भइहाल्यो, मुला र बन्दा समेत नबिक्ने र बिके पनि मूल्य नपाउने अवस्था किसानहरुले झेलिरहेका छन्’ वडाध्यक्ष सुवेदीले भने ।

    किसानले पाँच रुपैयाँ किलोमा लैजाऊ भन्दा पनि काउली नबिकेको सोही वडाका वडा सदस्य सुनिल लामिछानेले बताए ।

    बिग्रियो बजार चक्र

    यसअघिको लकडाउनमा किसानको तरकारी बजारसम्म आउनै समस्या हुँदा बिग्रिएको चक्र यसपटक भने उपभोक्ताले खपत नगरिदिंदा प्रभावित भएको कालीमाटीका व्यवसायीहरुले बताएका छन् ।

    कालीमाटी बजारमा लामो समयदेखि तरकारीको होलसेल व्यवसाय गरिरहेका योगेन्द्र ढुंगानाका अनुसार तरकारीको औसत मूल्य अहिले कालीमाटी बजारमा २० देखि २५ रुपैयाँ प्रतिकिलो मात्रै छ ।

    साता दिनअघि मात्रै ७० रुपैयाँ किलोमा हारालुछ हुने तरकारी अहिले २० रुपैयाँ किलोमा बिक्री गर्न मुश्किल भएको उनले बताए । भारतीय तरकारीको सिजन सकिएर नेपाली तरकारी भित्रिन सुरु हुने बित्तिक्कै तरकारीको मूल्य अवमूल्यन हुन सुरु भएको उनले बताए ।

    ‘खासगरी काउली, बन्दा, गोलभेंडा, करेला, लौका जस्ता स्थानीय उत्पादन निषेधाज्ञाको मारमा परेका छन्, बजारमा सस्तोमा बिक्री गर्दा पनि सामान कटाउन कठिन भएको छ’, उनले भने ।

    कालीमाटीको हविगत देखेर किसानले हामी गाडीमा तरकारी पठाइदिन्छौं जतिमा बिक्छ बेच्नुस्, नबिके फ्याल्दिनुस् भनेर फोन गरे पनि लिन नसकिएको व्यवसायी ढुंगानाले बताए ।

    बजारमा तरकारी खरिद गर्न आउनेहरूको चाप सामान्य अवस्थाको तुलनामा ५० प्रतिशतले ओरालो लाग्दा तरकारीको आयात पनि सोही अनुसार खुम्चिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

    निषेधाज्ञा अघि र त्यसको केही दिनसम्म दैनिक ९०० टन तरकारी बजार भित्रिएकोमा अहिले सो परिमाण ४०० टनमा झरेको बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताए ।

    ‘बजारमा बिक्री नै छैन, केही दिनयता तरकारीको आयात दैनिक चारदेखि साढे चार सय टनको हाराहारी मात्रै छ’ श्रेष्ठले भने । बिक्री घटेसँगै बजारमा आएका तरकारी बिक्री नहुने समस्याले मूल्यमा निकै गिरावट आएको उनले बताए । सामान्य अवस्थामा भन्दा तरकारीको मूल्य ७० प्रतिशतसम्मले घटेको उनको भनाइ छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij