आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

घरभित्रै अभिभावकसँग टाढिँदै सन्तान

  • प्रकाशित मिति : मङ्लबार, जेष्ठ २५, २०७८



  • धनगढी । किशोरकिशोरी तथा बालबालिकामा पछिल्लो समय बढ्दै गएको मोबाइल फोनको प्रयोगका कारण उनीहरूको दैनिकीमा समस्या आउनुका साथै घरभित्रै आफ्ना अभिभावकसँग टाढिँदै गएका छन्। मोबाइल फोनको प्रयोगसँगै किशोरकिशोरी तथा बालबालिकामा लगातार मोबाइल फोनमै झुन्डिने, झोक्राउने तथा घरमै भएर पनि परिवारका सदस्यसँग धेरै घुलमिल नहुने, बोल्दा पनि झर्किने खालका समस्या देखिन थालेका छन्।

    पहिला–पहिला साथीभाइसँग विभिन्न खेल खेल्न तथा परिवारका सदस्यसँग बसेर रमाउन चाहने किशोरकिशोरी तथा बालबालिकामा अत्यधिक मोबाइल फोनको प्रयोगले उनीहरूमा मोबाइल फोनबाहेक अन्त ध्यान नहुँदा समस्या हुन थालेको हो।

    घरबाहिर जाने, लामो समय घरमा नआउने तथा साथीभाइको सङ्गतमा सदैव डुल्याडुल्यै गर्ने आफ्नो १९ वर्षीय छोराको घरभित्रै बसिरहने बानी परेपछि कैलालीको घोडाघोडी नगरपालिका–१० का पुरोषत्तम जैशी खुशी भएका थिए। आफ्नो छोरा एकाएक अघिल्लो महिनादेखि घरभित्रै बस्ने मोबाइल चलाउने गर्न थालेपछि उनी खुशी भएका हुन्।

    छोरो घरभित्रै बस्न थालेपछि पहिलाजस्तो दिनभर घरबाहिर साथीभाइसँग डुल्न नजाने भयो भन्ने कुराले खुशी हुनुभएका जैशी अहिले छोरा घरभित्रै भएर पनि परिवारसँग एक्कासि टाढिएको देखेर चिन्तित छन्। घरभित्रै रहे पनि जुनसुकै समयमा मोबाइल चलाइरहने, इन्टरनेटमा गेम तथा सामाजिक सञ्जालको एकोहोरो प्रयोग गरिरहने, कसैले बोलाए झर्किने तथा झोक्राउने गरेका कारण जैशीमा चिन्ता थपिएको हो।

    यो त एक उदाहरण मात्र हो । आधुनिक विकासको एक स्वरूप मोबाइल फोन भएको र यो अहिले प्रायः धेरैको हातमा पुगिसकेको अवस्थामा जवान, वृद्धदेखि बालबालिका सबैमा मोबाइलको अत्यधिक लत बसेको बताउनुहुन्छ राष्ट्रिय कलेज सुखडका उपप्राध्यापक प्रभात बोगटी। बाबुआमाले पनि बच्चालाई मोबाइल दिएर भुलाउने गरिरहेका कारण निरन्तर मोबाइल फोनको प्रयोगले बालबालिकामा तनाव हुने, आँखा दुख्ने, टाउको दुख्ने, बाबुआमासँग धेरै नबोल्ने, बोलाउँदा तीन चारपटकसम्म बोलाउनुपर्ने, पढाइप्रति लगाव कम हुने, अश्लील चित्र र भिडियोको लत बस्ने, साइबर अपराधतिर तानिने समस्याहरू देखिन सक्ने भएकाले अभिभावक समयमै सचेत रहनुपर्ने बोगटी बताउछन्।

    यसको समाधानका लागि विशेष गरेर घरपरिवार बाबुआमा, शिक्षकको अग्रसरता हुनुपर्ने बोगटीको भनाइ छ। उनीहरूले मोबाइलको ठाउँमा खेल खेलाउने, कहानी भन्ने, बच्चासँग आफू पनि सँगै खेल्ने, चित्र कोर्ने आदि उपायबाट बालबालिकामा बसेको मोबाइलको लत छुटाउन सकिने उनी बताउछन्।

    लगातार मोबाइलको प्रयोगले तनाव, चिन्ता तथा बेचैनी, उदासीनता, निद्राको समस्या, थकान महसुस हुनु, कुनै कुरामा राम्ररी ध्यान केन्द्रित गर्न कठिन पर्ने वा कुनै नयाँ रचनात्मक कार्य गर्न गाह्रो पर्ने, ध्यान केन्द्रित गर्न समस्या हुनेलगायतका मानसिक लक्षण देखापर्ने मनोविद् सीता भण्डारीको भनाइ छ। उनी भन्छिन्, “लगातार मोबाइल चलाइरहनाले ढाड दुख्ने, टाउको दुख्ने, घाँटी र गर्दन दुख्ने, आँखामा समस्या, खान मन नहुने, तौल घट्नेलगायतका शारीरिक लक्षण पनि देखिने हुँदा विशेष सतर्कता अपनाउनुपर्ने हुन्छ।”

    लगातार इन्टरनेट वा मोबाइल चलाइरहने छोराछोरीलाई अभिभावकले उनीहरूको व्यवहार परिमार्जन गर्न सहयोग गर्नुपर्ने मनोविद् भण्डारीको भनाइ छ। मोबाइल नचलाई नमान्ने बच्चा भए घरका काम दिने र सो काम सकेपछि सकेको इनामका रूपमा मात्र केही समय प्रयोग गर्न दिने, यसो गर्दा मोबाइल प्रयोग विस्तारै घट्ने तथा दिनमा केही समयका लागि फोन बन्द गर्न लगाई बच्चासँग आफूले समय बिताउने काम पनि अभिभावकले गर्नुपर्ने भण्डारी बताउछिन्। यसो गर्दा विस्तारै मोबाइल प्रयोग कम हुनसक्छ भन्छिन् भण्डारी।रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij