गोरखा । पालुङटार नगरपालिका-५ ठाटीपोखरी बजार क्षेत्रमा भाडामा व्यवसाय गर्नेहरुलाइ लक्षित गरी घर भाडा छुट अभियान सञ्चालन गरिएको छ ।
स्थानीय बौद्ध हिमाल युवा क्लबको पहलमा यो अभियान सञ्चालन भएको हो।

अभियान अन्तर्गत हालसम्म ३० जना भन्दा बढी व्यवसायीको घरभाडा छुट भइसकेको क्लबका अध्यक्ष किरण गिरीले बताए।
कोभिड–१९ का कारण जारी निषेधाज्ञाले व्यापार व्यवसाय ठप्प हुदाँ मर्कामा परेका व्यवसायीलाई राहत पुर्याउने उदेश्यले अभियान संचालन गरिएको उनले बताए ।
‘निषेधाज्ञाको अवधिमा सञ्चालन हुन नपाएका टेलर्स, फेन्सी, सुनचाँदी लगायतका पसलहरुलाई लक्षित गरेका छौ, घरवेटीहरुलाइ भेटेर भाडा छुट गराइदिन आग्रह गर्दै हिडेका छौ,’ उनले भने ।
आयआर्जनको ढोका बन्द हुदाँ भाडा तिर्न समस्या भएकाले सहयोग अभियान संचालन गरिएको उनले बताए । अन्य स्थानका व्यवसायीहरुको भाडा छुट गर्न पनि क्लबले आग्रह गरेको छ । गत बर्षको लक डाउनमा पनि क्लबको पहलमा केही घरवेटीहरुले भाडा छुट गराएको गिरीले जानकारी दिए ।