प्रकाशित मिति : आइतवार, साउन १०, २०७८
पहिराले थुनिएको म्याग्दीको धवलागिरि गाउँपालिका–१ स्थित गुर्जाखोला तलाउ भरिएर प्राकृतिकरूपमा बग्न थालेको छ।
गुर्जाको खास्टा भन्ने ठाउँमा शनिबार दिउँसो पहाड भत्किएर पहिरो खस्दा थुनिएको खोला रातिदेखि ‘ओभरफ्लो’ भएर बग्न थालेको गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले बताए।
‘तलाउ भरिएर माथिबाट बग्न थालेको हो। थप जोखिमको अवस्था अध्ययनका लागि आज बिहानै पहिरो गएको ठाउँतर्फ हिँडेका छौं,’ उनले भने।
तलाउ एकैपटक फुटेर बगेको अवस्थामा तटीय क्षेत्रमा बाढी आउने र कटान गर्ने जोखिम हुने भएकाले सतर्कता अपनाइएको छ।
सदरमुकाम बेनीमा आएर म्याग्दी खोला कालीगण्डकीमा मिसिन्छ।
पहिरो खसेर खोला थुनिएको ठाउँमा पुग्न गुर्जाबाट दुई घण्टा पैदल हिँड्नुपर्छ। दुवै किनारमा भिर भएको साँघुरो खोँचमा पहिरो खसेर खोला थुनिएको खेतमा काम गर्न गएका किसानले देखेपछि खबर गरेका थिए।
पहिरो गएको र तलाउ बनेको ठाउँसम्म पुग्ने बाटो छैन। किसानले टाढैबाट देखेर खबर गरेका हुन्। केही समय खोला सुकेको थियो।
धवलागिरि, मालिका, मङ्गला गाउँपालिका र बेनी नगरपालिका भएर म्याग्दी नदी बग्छ। चारवटै स्थानीय तहको तटीय क्षेत्रका बस्तीमा सतर्कता अपनाउन आग्रह गरिएको प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले बताए।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij