आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

कोभिशिल्डको दोस्रो डोज पर्खेका जेष्ठ नागरिकलाई २५ साउनदेखि खोप लगाइँदै

  • प्रकाशित मिति : शुक्रबार, साउन २२, २०७८



  • काठमाडौं, साउन २२ । कोरोनाविरुद्धको कोभिसिल्ड खोप लगाएर दोस्रो डोज लगाउन नपाएका ज्येष्ठ नागरिकहरुलाई सरकारले यही साउन २५ गते सोमबारबाट खोप लगाउने भएको छ ।

    दोस्रो डोजको प्रतीक्षामा रहेका ६५ वर्ष माथिका करिब १३ लाख ३८ हजार जेष्ठ नागरिकले साउन २५ गतेबाट खोप लगाउन पाउने सरकारले जनाएको हो ।

    भुटानले शुक्रबार एस्ट्राजेनेकाको तीन लाख डोज खोप पठाएको तथा जापानले दिने १६ लाख डोज खोप शनिबार आउने भएकाले साउन २५ गतेदेखि दोस्रो डोज खोप दिने मिति तय गरिएको हो ।

    स्वास्थ्य सेवा विभाग खोप महाशाखाका प्रमुख डा. झलक शर्मा गौतमले जापानले दिने खोप शनिबार र आइतबार दुई लट आउने भएकाले खोप लगाउने मिति तय गरिएको जानकारी दिनुभयो ।

    गौतमले शुक्रबारबाट लगाउन थालिएको भेरोसेलको दोस्रो मात्रा खोप सकिने बित्तिकै कोभिसिल्डको दोस्रो मात्रा लगाउन शुरु गरिने बताउनुभयो । उहाँका अनुसार चार/चार लाख गरेर ८ लाख डोज खोप आगामी दुई दिनमा आउँदैछ भने बाँकी ८ लाख डोज खोप १० दिनपछि आउने छ ।

    फागुन तेस्रो साता ६५ वर्षमाथिका १३ लाख ३८ हजार भन्दा बढी जेष्ठ नागरिकले भारतबाट किनिएको सेरम इन्स्टिच्यूटले विकास गरेको कोभिशिल्ड नामक खोपको पहिलो डोज लगाएका थिए ।

    १२ हप्तापछि लगाउनुपर्ने भनिएको दोस्रो डोज खोप पाँच महिनापछि बल्ल लगाउने वातावरण बनेको हो । पैसासमेत पठाइसक्दा पनि भारतले १० लाख डोज खोप नदिँदा ज्येष्ठ नागरिकहरु लामो समय खोप लगाउनबाट बन्चित भएका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij