प्रकाशित मिति : मङ्लबार, साउन २६, २०७८
एजेन्सी साउन २६ । कोरोना भाइरसविरुद्धको खोप लगाएकाहरुमा यस भाइरसका कारण अस्पताल भर्ना हुने तथा मृत्यु नै हुने अवस्था आउनेको संख्या उल्लेखनीय नभएको जनाइएको छ ।
अमेरिकामा अहिलेसम्म खोप लगाएकाहरुमा गरिएको अध्ययनमा खोप लगाउने ९९ दशमलव ९९ प्रतिशत मानिस सुरक्षित देखिएका हुन् ।
यूएस सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसी) को तथ्यांक विश्लेषणमा शून्य दशमलव शून्य शून्य एक प्रतिशत व्यक्तिको मात्र मृत्यु भएको तथा शून्य दशमलव शून्य शून्य पाँच प्रतिशत व्यक्ति विरामी भई अस्पताल भर्ना हुनुपरेको सीएनएनले जनाएकाे छ ।
अमेरिकामा अगष्ट २ सम्म पूर्ण खोप लगाएका १६ करोड ४० लाख व्यक्तिमा ०.००१ प्रतिशत अर्थात् १,५०७ जनाको मृत्यु भएको तथा ०.००५ प्रतिशत अर्थात् ७,१०१ जना मात्र अस्पताल भर्ना हुनु परेको जनाइएको छ ।
बाइडन प्रशासनले खोप लगाउनका लागि पूर्ण जोड लगाइरहँदा पनि अमेरिकामा अझै ३१.२ प्रतिशत योग्य व्यक्ति (१२ वर्ष माथिका) हरुले खोप लगाएका छैनन् ।
अमेरिकामा ५०.७ प्रतिशत व्यक्तिले खोपको पूर्ण मात्रा लगाइसकेका छन् भने दैनिक चार लाख ८६ हजारभन्दा बढी व्यक्तिलाई दैनिक खोप लगाउने गरेको छ । हालसम्म ३५ करोडभन्दा बढी डोज खोप लगाइसकिएको जनाइएको छ ।
विभिन्न राज्य र सरकारमा निकायहरुले आफ्ना मातहतका कर्मचारीलाई खोप लगाउन अनिवार्य गरेका छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij