आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

भलिबल खेलाडीको दसैँ : एनभीए विजेताको उत्सव, केहीको खल्लो

  • प्रकाशित मिति : बिहिबार, अशोज २८, २०७८



  • काठमाडौं। नेपालीको महान् चाड बडादसैं भित्रिसकेको छ । यतिबेला बडादसैंको हर्ष र उल्लास छाएको छ । आफ्ना इष्ट मित्र, घर परिवारबाट टाढा रहेकाहरूको एकै समयमा भेट हुने पर्वसमेत हो दसैं।

    महान् चाड दसैंबाट नेपाली खेलकुद क्षेत्र अक्षुतो रहने कुरै भएन। अझ नेपालको राष्ट्रिय खेल भलिबल त्यसबाट टाढा रहनै सक्दैन । ८ जेठ २०७४ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट राष्ट्रिय खेल भलिबल घोषणा भएको हो।

    तर, हालसम्म भलिबल संघले आफ्नो एउटा स्तरीय भलिबल कभर्डहल पाउन सकेको छैन । यद्यपि, राष्ट्रिय खेलकुद परिषद् (राखेप) र विभागीय आर्मी क्लबको कभर्डहलमा विभिन्न प्रतियोगिता हुुँदै आएका छन्।

    नेपालमा अझै पनि भलिबल खुला मैदानमा खेलिँदै आएको छ । भर्खरै मात्रै नेपाल भलिबल संघ (एनभीए)ले आफ्नो छैटौं संस्करणको राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिप समापन गरेको छ।

    दसैँको मुखैमा प्रतियोगिता सकिँदा खेलाडीले समेत घर परिवारसँग बसेर रमाइलो गर्न पाएका छन् । यसअघि प्रतियोगिताको दौरान कति खेलाडी घरसमेत जान नपाउने अवस्था सृजना हुँदै आएको थियो । तर, यसपटक प्रतियोगिता कोरोना महामारीबीच पनि समयमै हुँदा खेलाडीले समेत दसैंमा रमाइलो गर्न पाएका छन् ।

    न्युज कारखानाले भलिबल खेलाडीको दसैं योजना कस्तो छ ? खेलाडीले कसरी दसैं मनाउँदै छन् ? कहाँ रहेर दसैं मनाउँदै छन् ? यस विषयमा राष्ट्रिय महिला तथा पुरुष खेलाडीसँग छोटो कुराकानी गरेको छ ।

    राष्ट्रिय पुरुष भलिबल खेलाडी कुलबहादुर थापा (हरि), मानबहादुर श्रेष्ठ, राजेन्द्र बिष्ट, महिला खेलाडी प्रतिभा माली र उषा भण्डारीसँग दसैं योजनाबारे गिरएकाे कुरकानी:

    कुलबहादुर थापा, नेपाल पुलिस क्लब

    मेरो यस पटकको दसैँ छैन । परिवारमा जुठो परेको छ । यसैले यो पटकको दसैं हुँदैन । घर आएको छु । अघिल्लो साल बिरामी (ढाडको समस्या) भएका कारण पनि घरमै बसेर दसैं मनाएको थिएँ । टीका नभए पनि घर परिवार र साथीहरूसँग भेटघाट समय राम्रो भएको छ ।

    मान बहादुर श्रेष्ठ, त्रिभुवन आर्मी क्लब

    दसैं यस पटक घर (नवलपरासी) मा मनाउने भएका छौं । परिवार जम्काभेटमा दसैं राम्रो बनाउने सोचमा छु । घरमा नयाँ सदस्य (पुत्र लाभ)को आगमन भएको छ । अघिल्लो सालको दसैं राम्रो भएको थियो । यस पटक पनि खेल (एनभीए पुरुष तर्फ हेल्प नेपाललाई पराजित गर्दै आर्मी च्याम्पियन)राम्रो भएर दसैंको छुट्टि दिएको छ । खेल जितेर दसैं मनाउन पाएका छौं । धेरै खुसी छु । यस पटकको दसैं विशेष भइरहेको छ ।

    राजेन्द्र विष्ट, त्रिभुवन आर्मी क्लब

    काठमाडौं नै छु । मेरो दसैं काठमाडौंमा नै हुन्छ । परिवार यतै छौं । बुबाआमा घरमा (दार्चुला) हुनुहुन्छ । दाजुहरू पनि सबै काठमाडौं नै हुनुहुन्छ । साना बच्चाहरू हुँदा घर जान पनि सम्भव भएन । अहिले बिदामा छु । एनभिए च्याम्पियनसिप जितेपछि हामी खेलाडीले छुट्टि पाएका छौं । दसैंभर मिठोमिठो खाने परिवारसँग रमाइलो गर्ने नै हो । यस पटक मन्दिर दर्शन गर्ने योजना बनाएको छु ।

    प्रतिभा माली, न्यु डायमण्ड एकेडेमी

    दसैंमा त्यस्तो विशेष भनेर केही हुँदैन । घरमा पूजा गर्ने भोज खाने हुन्छ । घरपरिवारसँग टीका लगाउँछौँ । अघिल्लो सालको दसैँ परिवारमा जुठो परेर मनाएनौँ । यस पटकको दसैँमा अरुको भन्दा मेरो केही विशेष हुन्छ ।

    किन भन्दा हामी टिमका खेलाडीले खेल खेलेर दसैँ मनाउँछौँ । बहिनी (न्यु डायमण्ड एकेडेमी खेलाडी)हरू पनि काठमाडौंमा हुन्छन् । घर नगएका बहिनीहरूसँग एकेडेमी पुगेर खेल्छौँ । एनभीए महिला च्याम्पियनसिप जितेपछि केही रमाइलो गर्ने योजना थियो । तर, दसैँले गर्दानै धेरै खेलाडी घर जाँदा त्यो रमाइलो भने छुटेको छ । घरबाट फर्केपछि त्यो रमाइलो पनि हुन्छ ।

    उषा भण्डारी, नेपाल पुलिस क्लब

    यस पटकको दसैँ पाल्पा (गृहजिल्ला)मा मनाउँछु । मामा घर (सामाखुसी) जाने कुरा थियो । एनभीए हारेपछि जाने कुरा भएन । समय पनि भएन । अनि मामा घर गइँन । बनस्थलीमा ठूलो बाबा हुनुहुन्छ, त्यता नै जान्छु । दसैपछि अभ्यास फेरि सुरुवात हुन्छ । त्यसैमा केन्द्रित छु ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij