प्रकाशित मिति : बुधबार, कार्तिक २४, २०७८
काठमाडौं। विश्वकपमा खराब प्रदर्शन गरेको भारतले न्यूजिल्यान्ड भ्रमणका लागि रोहित शर्मालाई कप्तानको जिम्मेवारी दिएको छ। नोभेम्बर १७ बाट सुरु हुने न्यूजिल्यान्डविरुद्ध तीन टी-२० खेल शृंखलामा शर्माले १६ सदस्यीय टोलीको नेतृत्व सम्हाल्नेछन्। केएल राहुललाई उपकप्तानको जिम्मेवारी दिइएको छ।
न्यूजिल्यान्डविरुद्धको शृंखला नयाँ प्रशिक्षक राहुल द्रविडका लागि समेत पहिलो परिक्षण हुनेछ। आइसीसी टी-२० विश्वकप क्रिकेटपछि कप्तानबाट हट्ने घोषणा गरेका विराट कोहलीलाई न्यूजिल्यान्डविरुद्धको भ्रमणका लागि घोषणा गरेको टोलीमा समावेश गरिएको छैन।
यस पटक भारतीय टोलीमा वेनकटेस अैयर, आभेस खान र हर्षल पटेललाई पनि समावेश गरिएको छ। त्यस्तै श्रेयस अैयर, मोहम्मद सिराज र युज्वेन्दर चाहलले भने टोलीमा पुनरागमन गरेका छन्।
यस संस्करणको विश्वकपमा उपाधिको दाबेदार मानिएपनि भारतको यात्रा सुपर १२ मा सीमित भएको थियो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij