प्रकाशित मिति : बुधबार, साउन १८, २०७९
प्रेस काउन्सिल नेपालले जथाभावी सदस्यता दिने काम नगर्न नेपाल पत्रकार महासंघलाई आग्रह गरेको छ । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले आफ्नो सदस्यता दिने प्रावधानलाई खुकुलो नबनाउन नेपाल पत्रकार महासंघलाई आग्रह गरेका हुन् ।
नेपाल मतदाता अधिकार मञ्चले बुधबार काठमाडौंमा आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले पत्रकारको आवरणमा गैरपत्रकारबाट हुने विभिन्न खालका गतिविधिलाई रोक्न पनि महासंघले आफ्नो सदस्यता दिने काममा कडाई गर्नुपर्ने स्पष्ट गरे ।
कुनै दलको केन्द्रिय कमिटीमा रहेकाहरुलाई पनि महासंघले सदस्यता दिँदा समस्या आएको दृष्टान्त पेश गर्दै अध्यक्ष बस्नेतले त्यसो हुन नदिन नेपाल पत्रकार महासंघलगायतका सम्वद्ध निकायहरु सचेत हुनुपर्ने बताए । उनले नेपाल पत्रकार महासंघको सदस्यता लिने तर सक्रिय पत्रकारिता नगर्नेहरुको कारण पनि नेपालको सञ्चार क्षेत्रमा समस्या देखिएको बताए । अध्यक्ष बस्नेतले सञ्चारकर्मीहरु आफू सचेत भएमात्रै अरुमाथि प्रश्न उठाउन सकिने पनि पटकपटक दोहोर्याए ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले राज्यले समेत पत्रकारहरुलाई विवेक पु¥याएर स्वतन्त्र ढंगले काम गर्ने वातावरण बनाउन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरे । उनले पत्रकारहरू लगानीकर्ताका दासनै हुन् भन्ने खालको आरोप लाग्ने गरेको उल्लेख गर्दै त्यस कुराले पनि उनीहरुलाई स्वतन्त्र भएर काम गर्ने काममा अवरोध सृजना गरिरहेको तर्क गरे ।
अध्यक्ष पोखरेलले राज्यले पत्रकारको हितमा केन्द्रित भएर नीति तथा कार्यक्रम ल्याउन नसकेको गुनासो पनि गरे ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij